जीतपुर,तेस्रो बकुलिया गोल्ड कप अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा हेटौडा फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । सडेन डेथमा नेपाल खेलकुद क्लब चपुरलाई हराउँदै हेटौँडा फुटबल एकेडेमीले विजय सुरुवात गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बस ५ को आयोजनामा भइरहेको खेलमा हेटौँडा फुटबल एकेडेमीका साजन जिम्वाले १७ औँ मिनेटमा नेपाल खेलकुद चपुरको विरुद्ध गोल गरेका थिए ।
खेलको ६५ औँ मिनेटमा नेपाल खेलकुद चपुरको तर्फबाट रोहन लामाले गोल फर्काएका थिए ।
निर्धारित समयमा दुवै पक्षको एक÷एक गोल भएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकर पनि खेल बराबरीमा टुङ्गिएपछि सडेन डेथबाट जितको छिनोफानो गरिएको हो ।
सडेन डेथमा हेटौँडा फुटबल एकेडेमीका सुदिप रेग्मीले निर्णायक गोल गरी आफ्नो टिमलाई विजय गराउन सफल भएका थिए । खेलको म्यान अफ दी म्याच विजय टिमका गोल किपर असमीर गोन्घा घोषित भए ।
प्रतियोगिताको उद्घाटन नारायणी अञ्चलका प्रमुख फुटबल प्रशिक्षक रहिसक्नु भएका हरिबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
फागुन २८ गतेसम्म चल्ने सो प्रतियोगितामा विजयी टोलीले एक लाख र उपविजेता टालीले ५० हजार रुपैयाँ पुरस्कार र ट्रफी प्राप्त गर्ने छन् ।