बिदुर खडका,
डुमरवाना, ९ मंसिर– सरकारले करदाताहरुलाई मुस्कान सहितको सेवा सुविधा दिने निति लिएको भएपनि आन्तरिक राजश्व कार्यलय सिमराले भने सेवाग्राहीहरुलाई मुस्कान त कता हो कता राम्ररी सुबिधा समेत दिन सकेको छैन ।
कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सुबिधा दिनुको बदला तिरिसकेको वार्षिक कर पनि फेरि तिर्न बाध्य गराएको पाइएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १५ डुमरवानाका कपडा व्यापारी खुमराज पौडेलले अघिल्लो वर्ष नै तिरेको कर आफुलाई फेरि तिर्न लगाएको बताउनुभयो । पौडेलले ०७३ सालमा कर तिरेको बिल हुदाहुदै पनि दुई पटक कर तिर्न बाध्य पारिएको पौडेलले बताउनुभयो । कार्यलयका कर्मचारीले ०७३ सालमा कर तिरेको रसिद काटेर पनि लापरवाहीले लेखाङ्कन नराखेको कारण यस्तो समस्या भएको हो ।
यस्तै डुमरवाना, रजघाटका प्रेम पौडेलले पनि कर्मचारीको लापरवाहीका कारण दुई पटक कर तिरेको जनाउनुभयो । पौडेल भेट फर्मका संञ्चालक रहनुभएका पौडेलले ०७४ भदौं २५ गते ५ हजार वार्षिक कर तिरे पनि ०७६, ०७७ को कर तिर्न जादा फेरि कर लिएको बताउनुभएको छ ।
यता, आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख नारायण भन्डारीले सेवाग्राहीले कार्यलयमा सम्र्पक गरेमा त्यस्ता समस्या बारे हेरिने बताउनुभएको छ ।