झापा, ३ चैत । झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराई एक समय दैनिक गुजारा चलाउनै संघर्षरत थिए । चुहिने छानोमुनि बस्दै बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने अवस्थाबाट गुज्रिएका उनले कहिले भोकै रात काटे त कहिले अरूको मजदुरी गरेर जीवन धाने ।
तर आज उनको जीवन पूर्ण रूपमा परिवर्तन भएको छ । निरन्तर मेहनत, लगनशीलता र आत्मनिर्भरताको सोचले उनी सफल उद्यमीका रूपमा स्थापित भएका छन् । अहिले उनी सञ्चालन गर्दै आएको ‘गणेश नर्सरी उद्योग’मा पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन्, जसको बजार झापादेखि चितवनसम्म फैलिएको छ ।
विसं २०७३ मा मात्र रु २७०० को सानो लगानीबाट सुरु गरिएको यो व्यवसाय आज वार्षिक करोडौंको कारोबार गर्ने अवस्थामा पुगेको छ । नर्सरी व्यवसायकै माध्यमबाट उनले आफ्नै घरजग्गा जोड्नुका साथै आर्थिक रूपमा सुदृढ बनेका छन् ।
सानैदेखि परिश्रममा विश्वास राख्ने भीमबहादुरले कुखुरा व्यापारदेखि लिएर गाई–बाख्रा बेच्ने कामसमेत गरे । स्थानीय बजारमा व्यापार गर्दै उनले व्यावसायिक अनुभव हासिल गरे । साथै, उनले एक समय पत्रिका वितरण गर्ने ‘हकर’को काम पनि गरेका थिए ।
कक्षा १० सम्मको अध्ययनपछि पूर्ण रूपमा स्वरोजगारमा लागेका उनले शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दै कृषि क्षेत्रमा आवश्यक ज्ञान र सीप हासिल गरे । यही अनुभवले उनलाई व्यवसायमा अगाडि बढ्न मद्दत गर्यो ।
हाल उनले नर्सरीसँगै सुपारी प्रशोधन उद्योग पनि सञ्चालन गरिरहेका छन् । झापा सुपारी खेतीका लागि उपयुक्त क्षेत्र भएकाले उनले यस क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । किसानबाट सुपारी खरिद गरी प्रशोधन गरेर बिक्री गर्ने कामबाट समेत स्थानीयलाई रोजगारी मिलेको छ । रासस
उनका अनुसार, “इमान्दारी र मेहनतका साथ काम गरे सफलता अवश्य प्राप्त हुन्छ।” अहिले उनका उद्योगहरूमा २० जनाभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् । उनको सफलतामा उनकी पत्नी तुलसी भट्टराईको महत्वपूर्ण साथ रहेको छ । उनले सधैं स्वदेशमै केही गर्न प्रोत्साहित गरेकी छन् ।
व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले विद्यालयमा अक्षयकोष स्थापना गर्नुका साथै धार्मिक र सामुदायिक संरचना निर्माणमा सहयोग गर्दै आएका छन् ।
खाडी मुलुकतर्फ रोजगारीका लागि जाने युवाहरूको भीडबीच भीमबहादुर स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
coped by halokhabar



















