काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ ।आयोगको हीरक जयन्तीका अवसरमा आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गर्नुभएको हो । जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा आफूलाई खुशी लागेको उहाँको भनाई छ ।राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सिर्जना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रका रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गर्नुभयो ।