निजगढ,मंसिर ४ को प्रतिनिधिसभा सदस्य पदका लागि बारा–१ मा काँग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको बारामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये बारा १ मा प्रतिनिधिसभा सदस्यका लागि मैनाली र चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

बहालवाला खानेपानी मन्त्री समेत रहेका चौधरी बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ भने एमाले र जसपा तालमेलबाट नेकपा एमालेबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।

यस क्षेत्रबाट ३ पटक बिजयी हासिल गरिसकेका चौधरी यो पटक समेत जित हासिल गरि चौथो पटक जित निकाल्ने प्रयासमा हुनुहुन्छ भने यस अघि २०७४ मा चौधरीसंग २ हजार ४ सय २० मतले पराजित मैनाली यसपटक अघिल्लो निर्वाचनमा भोगेको पराजनको बदाला लिने दाउमा हुनुहुन्छ ।

यता मतदाता भने चौधरीसंग पटक पटक बिजयी भए पनि क्षेत्रको विकासमा कुनै काम नगरेको भन्दै रुस्ट देखिन्छन् । चुनावी घरदैलो अभियानका क्रममा यसपटक पनि गाउँपालिका र नगरपालिकाका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जाल, खानेपानी, सिचाइ, सुकुम्बासी समस्या समाधान लगाएका प्रतिबद्धता जनाउने गरेको मन्त्री चौधरीको आश्वासनमा विश्वास गर्ने ठाउ नभएको मतदाताले बताएका छन । कांग्रेशका चौधरीप्रति मतदातामा बढेको अविश्वासका बीच एमालेका मैनाली परिणाम आफ्नो पक्षमा पार्ने दाउमा देखिनुभएको छ ।

मन्त्री बन्दा समेत जनताले अनुभुति गर्ने जनताका समस्या हल गर्ने खालका काम नगरेको आरोपका बीच मन्त्री चौधरीले थारु समुदायको बाहुल्यता रहेको क्षेत्र नं. १ मा आफनो विजयी अभियानमा कसैले रोक लगाउन नसक्ने दावी गर्नुभएको छ ।

०७४ को निर्वाचनमा विश्वास गरेकाहरुले अहिले पनि आफुलाई जिताउने र विकासको लहर ल्याउन बाटो खोल्नेमा आफु ढुक्क रहेको उहाँले बताउनुभएको छ ।

यता शिक्षा, स्वास्थ, यातायात, भौतिक पुर्वाधार, सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवर्द्धन, खेलकुद, चुरे तथा नदी नियन्त्रण, सिम्रनगढको बिकास लगायतका एजेण्डा लिएर घरदैलोमा व्यस्त नेकपा एमालेका उम्मेदवार मैनाली चुनावी दौडमा व्यस्त हुनुहुन्छ ।

जनताको मन जितेर चुनावमा जित हासिल गर्ने दावी गर्दै यस क्षेत्रका मतदाताले गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृती तथा अराजनीतिक गतिविधिलाई अन्त्य गरी यस क्षेत्रका बिकासका र परिवर्तनका लागि एमालेलाई जनताले जिताउनेमा पूर्ण विश्वस्त रहेको मैनालीको भनाइ छ ।

जितका लागि आ–आफ्ना दाबी प्रस्तुत गरिरहेका दुई प्रतिस्पर्धी मध्ये क्षेत्र नं. १ का मतदाताले कस्लाई रोज्छन् त्यो भने हेर्न बाँकी नै छ ।

क्षेत्र नं. १ मा बाराकै सबैभन्दा बढी मतदाता रहेका छन । यस क्षेत्रमा कुल १ लाख १९ हजार ३ सय ७५ मतदाता छन् । जस मध्ये पुरुष ६३ हजार ४ सय ६४, महिला ५५ हजार ९ सय ६ र अन्य ५ मतदाता छन् ।

यस क्षेत्रका लागि ८६ मतदानस्थलमा १ सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । यस क्षेत्रमा प्रतिनिधि सभाका निम्ती राजनीतिक दलबाट १२ र स्वतन्त्र ६ गरी १८ जना चुनावी मैदान उत्रिएका छन् ।

 

Leave a Reply