सिकिन्द्र साह
सिम्रौनगढ,नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ उपवितरण केन्द्रले हुकिङ्ग प्रयोग गरेर विद्युत चोरी गर्ने २१ जनालाई पक्राउ गरेको छ । उपवितरण केन्द्र सिम्रौनगढबाट खटेको टोलीले सिम्रौनगढ लगायत पचरौता र कोल्हबी नगरपालिका तथा आर्दशकोतवाल गाउँपालिकाहरुमा वितरण भएको विद्युत लाइनमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेमाथि कारबाही शुरु गरेको हो ।
प्रहरीसहित परिचालन गरिएका प्राधिकरणका कर्मचारीले बिहीबार राति विद्युत चोरी गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको हो । विद्युत चोरी गर्ने क्रम बढेकोले कारबाही प्रहरीको सहयोगमा पक्राउ गरी प्रकृया सुरु गरिएको नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रका प्रमुख मनोजकुमार झाले बताउनुभयो ।
विगत लामो समयदेखि यस क्षेत्रमा स्थानीयले घरमा बाल्ने र खेतबारीमा मोटर चलाउनसमेत चोरीको विद्युत प्रयोग गर्दै आएका छन । प्राधिकरणले चुवाहट नियन्त्रण गर्न विद्युत चोरी गरी प्रयोग गर्नेमाथि कडा कारबाही थालेको पनि कार्यालय प्रमुख झाले बताउनुभयो ।