वीरगञ्ज,सबै रोगको उपचार गर्ने दाबी गरेर वीरगञ्जमा शिविर चलाउदै आएका भारतीय काली कम्बल बाबा फरार भएका छन् । वीरगञ्जको चिनी मिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न भनेर आएका काली कम्बल वाले बाबा फरार भएका हुन् ।

बाबाले क्यान्सर, सुगर, रक्तचाप, पत्थरी लगायतका विभिन्न रोगको निशुल्क उपचार गर्ने भनेर प्रचार गरेपछि उपचार गराउन भनेर पर्साको ग्रामीण भेगका बासिन्दाहरुको ओइरो लागेको थियो । बाबाले छोएको भरमा उपचार हुनेभन्दै सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताउनुभयो ।

बाबाको अन्धविश्वासमा परेर शिविरमा उपचार गराउनका लागि मधेस प्रदेशका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजारौंको संख्यामा सर्वसाधारण वीरगञ्ज आउने क्रम बढको थियो ।तर आइतवार दिउँसो १२ बजेतिर बाबाले अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरुले प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दा केही बेर स्थिति तनावग्रस्त बनेको थियो । बाबा फरार भएपछि शिविर आयोजकलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी प्रशासनले काली कम्बल वाला बाबालाई पक्राउ गरेर लगेको भन्दै सडकमै बसेर धर्ना दिएका थिए । धर्नाका कारण अवरुद्ध सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडप पनि भएको थियो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएको पनि बताइएको छ ।सर्वसाधारणलाई अन्धविश्वासमा पारेर उपचारको नाममा ठगी गर्नेगरेको भन्ने गुनासोपछि बाबालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । प्रहरीले पक्राउ गर्नसक्ने सूचना पाएपछि बाबा फरार भएको हुनसक्ने प्रहरीको आशंका छ । यसअघि भारतमा पनि उनीलाई विभिन्न आरोप लाग्दैआएको थियो ।

Leave a Reply