कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको दुर्गा मावि परिसरमा बिग्रिएको ट्रान्सफर्मर मर्मतमा विद्युत प्राधिकरण कलैयाले चासो नदेखाउँदा सयौं सर्वसाधारण विद्युत् सेवाबाट वञ्चित भएका छन्। आइतबार राति ९ः३० बजे बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सो क्षेत्रका करिब १ हजार घरधुरी परिवार प्रभवित बनेका हुन ।गर्मी बढेको बेला विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीय उपभोक्ताहरु मार्कामा परेका छन । विद्युत् सेवा अवरुद्ध भएको जानकारी पाएपछि मर्मतका लागि पुगेका प्राधिकरणका कर्मचारीहरू मंगलवारबाट मात्र मर्मत गरिनेभन्दै फर्किएका छन ।
विद्युत् सेवा तत्काल सञ्चालनको माग गर्दै आक्रोशित भीडले वितरण केन्द्रको सरकारी गाडीका चारवटै चक्काको हावा फुस्काइदिएको स्थानीयहरूले जानकारी दिएका छन्। सेवाग्राही र कर्मचारीबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीसमेत घटनास्थलमा पुगेको थियो।
वितरण केन्द्र कलैयाका प्रमुखसँग सम्पर्क गर्दा ट्रान्सफर्मर मर्मतको लागि सुरक्षाको अभाव भएको कारण देखाउँदै तत्काल सेवा सुचारू गर्न नसकिएको बताए । उनका अनुसार अघिल्लो राति भएको कर्मचारीमाथिको व्यवहारका कारण सोमबार मर्मत कार्यमा कर्मचारीहरूले चासो नदेखाएका हुन ।एक जना कर्मचारीका अनुसार, “हामी जब मर्मतका लागि जान्छौं, सेवाग्राहीहरूबाट दुव्र्यवहार सहनुपर्छ। यस्तो अवस्थामा कसरी सुरक्षित भएर काम गर्ने?”यस्तै, आईतबार राति बाराकै फेटा क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध भएको थियो। स्थानीय नेता तथा कार्यकर्ताहरू वितरण केन्द्रमा पुगेर तत्काल सेवा सुचारू गर्न माग गर्दै दबाब दिएका थिए। तर, प्राधिकरणका प्रमुखले विभिन्न प्राविधिक र सुरक्षासम्बन्धी कारण देखाउँदै सेवा प्रवाहमा ढिलाइ भएको स्पष्ट पारेका छन्। जिल्लाको प्रहरी कार्यालयबाट करिब १.५ किलोमिटर दूरीमा रहेको ट्रान्सफर्मर मर्मतका लागि कुनै सक्रियता नदेखाइएकोमा सेवाग्राहीहरूले असन्तुष्टि जनाएका छन्।
बाढी, गर्मी, र चिसो मौसममा अझै बढी निर्भरता रहने विद्युत् सेवामा यस्ता किसिमका अवरोध तथा सरकारी लापरबाहीले सर्वसाधारणको जनजीवनमा गम्भीर असर पारिरहेको छ। सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र समयमै समाधानको लागि नेपाल विद्युत् प्राधिकरण, स्थानीय प्रशासन र सेवाग्राहीहरूबीच प्रभावकारी समन्वयको खाँचो देखिएको छ। यदि यस्तो अवस्था जारी रह्यो भने जनआक्रोश अझ चर्किन सक्ने सम्भावना प्रवल छ।
















