निजगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले नेपालको वन जनता (उपभोक्ता) को प्रयासमा नै संरक्षण हुदैआएको बताउनुभएको छ ।निजगढ ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभाको उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले शनिवार सो कुरा बताउनुभएको हो ।
राज्य कमजोर भएको बेला जनता आफै अघि सरेर वन संरक्षण गर्दैआएकाले नै नेपालमा वन जोगिएको उहाँको भनई थियो । पुलिस, प्रशासन र वन सुरक्षाकर्मी कमजोर भएर काम गर्न नसकेको बेला उपभोक्ताहरु आफै अग्रसर बनेर जंगलको संरक्षण गर्दैआएको उहाँले सुनाउनुभयो ।
‘जुन समयमा राज्य कमजोर बनेको छ, वनको विनास पनि बढेको छ, सांसद मैनालीले भन्नुभयो, ज्यान जोखिममा राखेर जस्तोसुकै अवस्थामा पनि संरक्षण कार्यमा खट्दैआएका उपभोक्ताहरुले वनका सच्चा संरक्षक हुन ।’
उहाँले अंग्रेजको समयदेखि पञ्चायती शासन र माओवादी द्वन्दकालमा नै नेपाल सबैभन्दा बढी वन विनास भएको बताउनुभयो । ‘राज्य निरीह बनेको बेला नै वन विनास बढेको छ, त्यतिबेला पनि जनताले जोखिम मोलेर नै वन संरक्षण गरेका हुन ।’उहाँले स्थानीय उपभोक्ताहरु जीवनचर्या वनसंग नै जोडिएकोले दुबैलाई एकअर्काबाट छुट्याउन नमिल्ने पनि बताउनुभयो । ‘घासँ दाउरा र काठपातमात्रै होइनन, उहाँले भन्नुभयो, हाम्रो लागि स्वच्छ हावा, पिउने पानी, कृषि व्यवसाय र औषधिमुलोको स्रोत पनि जंगल नै हो ।’
सांसद मैनालीले वन पैदावारको यथोचित सदुपयोग गर्न नसकिएको पनि बताउनुभयो । ‘अब गरिवी निवारण र आय आर्जनको लागि पनि वन स्रोतको बहुप्रयोग आवश्यक छ ।’कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सामुदायिक वन लोकतन्त्र र गणतन्त्रको प्रतिफलको रुपमा रहेको बताउनुभयो । देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएपछि मात्रै तराई क्षेत्रमा पनि उपभोक्ताहरुलाई सामुदायिक वन हस्तान्तरण गर्ने प्रक्रिया शुरु उहाँले सुनाउनुभयो ।
‘आजको यही राजनीतिक परिवर्तनको जगमा नै वन जनताको स्वामित्वमा आएको छ, उहाँले भन्नुभयो, तर फेरि केही मानिसहरुले यो गणतन्त्रिक व्यवस्था ठीक छैन भनेको सुनिनु उचित होइन ।’
कार्यक्रममा वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले देशको सबै क्षेत्र भ्रष्टाचारमा लिप्त भएको र वन क्षेत्र पनि यसबाट अछुतो बन्न नसकेको बताउनुभयो । उहाँले कर्मचारीहरुले प्रक्रियाको नाममा उपभोक्ता समूहहरुलाई अनेकौं झन्झट र लफडा लगाएर काम गर्न अवरोध गर्ने गरेको सुनाउनुभयो । सरकारले हाल वन समूहसंग बढीभन्दा बढी कर असुल्ने गरी कानुन बनाएको र यसले सामुदायिक वन समूहहरुको स्वायत्तता र कामको प्रभावकारितामा अवरोध सृजना गर्नसक्ने बताउनुभयो ।
.
उपप्रमुख सोममाया थिङ्ग, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य दुर्गा कोइराला, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेबी लामिछाने, निजगढ गाविसका तत्कालिन अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइराला, जनहित सामुदायिक वन समूहकी अध्यक्ष चन्द्रीका मगर, निजगढ सब डिभिजन वन कार्यालयका प्रमुख निरोज पोखरेललगायतले बोल्नुभएको थियो ।वन समूहका अध्यक्ष खडकबहादुर मोक्तानले वन समूहको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक कृष्ण पण्डितले लेखा समितिको प्रतिवदेन र कोषाध्यक्ष देवकी श्रेष्ठले समूहको आयव्यय प्रतिवेदन पेस गर्नुभएको थियो । अध्यक्ष मोक्तानको अध्यक्षतामा भएको सो सभाको संचालन सचिव रामकुमार सिन्जालीले गर्नुभएको थियो ।
फोटो पनि छ ।