नरेश गुप्ता
बरियारपुर,मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङ्ग पदीय मर्यादा विपरीत असुली धन्दामा सक्रिय हुनुभएको छ ।
पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक गुरुङ्ग ट्राफिक व्यवस्थापन गर्न छोडेर विभिन्न बहानामा रकम असुलीमा लाग्नुभएको पिडीतहरुले बताएका छन ।
गत पुष १३ गते मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका गुरुङ्गले त्रिभुवन राजपथ र पूर्वपश्चिम लोकमार्गमा ट्राफिक प्रहरीलाई खटाएर सवारी र मालवहाक साधनका चालकसंग रकम असुली गर्ने गरेको चालकहरूले बताउछन् ।
प्रहरीले राजमार्गमा चल्ने रात्रीबस, टिपर, यात्रुवहाक टाटा सुमो लगायतका सवारीसाधनलाई अनाहकमा रोकेर कागजपत्र चेकजाँच गर्ने बहानामा रकम असुली गर्ने गरेको बताइएको छ । रात्री बस चेकजाँच गर्ने बहानामा पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयअगाडि रोकेर चालकसंग रकम असुल्ने गरिएको उनीहरुले बताएका छन । उनले आफ्नो माताहतका कार्यालय र पोष्टहरुबाट समेत मासिक नजराना बुझाउन उर्दी गरेका छन । केही दिनअघि रात्री बसलाई रातको समयमा चेकजाँच गर्ने गरिएको र ट्राफिक प्रहरीले रकम समेत लिएको भिडियो सार्वजनिक भएकोे थियो ।
ट्राफिक प्रहरी प्रमुख गुरुङ्गको ईशारामा जीतपुरसिमरा र पथलैयामा रहेका ठूला उद्योगका संचालकहरुबाट समेत मासिक नजराना संकलन गर्ने गरेको स्रोतले बताएको छ ।
ट्राफिक व्यवस्थापनको जिम्मेवारी पाएको निकाय आफ्नो कतव्र्य बिर्सिएर गैह्जिम्मेवार कार्यमा संलग्न हुन थालेपछि यस क्षेत्रमा सवारी दुर्घटना वृद्धि भएको छ ।