कलैया,गणतन्त्र दिवसको २०८२ को अवसरमा बारा जिल्लाका विभिन्न स्थानमा बिहीवार कार्यक्रमको आयोजना गरिएको छ ।जिल्लाको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका तथा परवानीपुर र करैयामाई गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा विविध कार्यक्रमको आयोजना गरिएको हो ।सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा, जिल्ला समन्वय समिति बारा र कलैया उपमहानगरपालिकाको सहकार्यमा ऐतिहासिक तथा धार्मिक महत्वको सिदेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार आयोजित उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, सुरक्षाकर्मी, स्थानीयबासी, युवाहरू तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले झाडी सफा गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, तथा जनचेतनामूलक सन्देश प्रवाह गर्ने कार्यमा सक्रियता देखाएका थिए ।कार्यक्रमले धार्मिक स्थलहरूको सरसफाइ र संरक्षणको महत्वबारे जनचेतना फैलाउनुका साथै सामाजिक उत्तरदायित्वसँग गणतन्त्र दिवसलाई जोडेर मनाउने उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाई थियो ।

सरसफाइ अभियानको समन्वय जिल्ला प्रशासन कार्यालय बाराले गरेको थियो भने जिल्ला समन्वय समिति बारा र कलैया उपमहानगरपालिकाले जनशक्ति, सामग्री र व्यवस्थापनमा विशेष सहयोग पु¥याएका थिए ।सिदेश्वर मन्दिर बाराको एक प्रमुख धार्मिक स्थलको रुपमा रहेको छ । सो मन्दिरमा दैनिक सयौं श्रद्धालुहरू दर्शनका लागि पुग्ने गर्छन् ।
त्यसैगरी दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा उपमहानगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा, कर्मचारी सम्मान, अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविका सम्मान, झण्डोत्तोलनलगायतको कार्यक्रम गरेको हो ।
गणतन्त्र दिवसका अवसरमा तीन दिने कार्यक्रमको आयोजना गर्दै मनाईरहेको जीतपुरसिमराले दोस्रो दिन कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरेको छ । बैशाख मसान्तसम्ममा उपमहानगरपालिकाभित्रका १५ महिनासम्मका बालबालिकाले प्राप्त गर्नुपर्ने सबै खोप पूर्णरुपमा प्राप्त गरेको आधारमा पूर्णखोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो ।

उपमहानगरपालिकाभित्रका १५ महिनासम्मका बालबालिकालाई खोपको दायरामा ल्याउनका लागि प्रत्येक वर्ष सुनिश्चितता घोषणा गर्नुपर्ने हुन्छ । यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर सुनिश्चितता घोषणासंगै प्रतिवद्धतामा हस्ताक्षर कार्यक्रम समेत गरिएको थियो ।यसैगरी उपमहानगरपालिकाले अवकाशप्राप्त तीन जना स्वास्थ्य स्वंयसेविका महिलालाई २० हजार नगदसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा वडा नम्बर १७ की सेतिमाया तामाङ, वडा नम्बर १३ की राजादेवी हजामीन र वडा नम्बर २० की स्वर्गीय लक्ष्मीदेवी यादव रहेका छन् । उपमहानगरपालिकाले २५ हजारसहित सञ्जु चौधरी र प्रदीप रेग्मीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको थियो ।

निजगढ नगरपालिका कार्यालयले पनि देशमा संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जीवन बलिदान गर्ने ज्ञात÷अज्ञात सहिदहरुको तस्वीरमा माल्यापर्णसहित दिवस मनाएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी, विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्य मिना लामा, विशिष्ट अतिथि जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्याकहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र निजगढ नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा नगरपालिकाले कार्यालय परिसरको नेपालको राष्ट्रिय झण्डाको झन्डोत्तोलनसमेत गरिएको थियो । प्रमुख अतिथि चौधरी, विशिष्ट अतिथि लामा र नगर प्रमुख पुरीले झन्डोत्तोलन गर्नुभएको थियो ।त्यस्तै परवानिपुर गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगन्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रगतको पोका दिएर गरेका थिए ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारसहित कुल ३० जनाले रक्तदान गरेका छन् ।सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।रक्तदान कार्यक्रममा सहभागीहरूलाई प्रोत्साहन गर्दै गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले रक्तदानलाई ‘जीवन रक्षक कार्य’ को संज्ञा दिँदै यसले समाजमा एकताको भावना जागृत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रक्तदान एउटा यस्तो कार्य हो जसले कसैको जीवन बचाउन सक्छ । हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सकिन्छ ।”उपाध्यक्ष सुगान्धी देवीले पनि रक्तदानको महत्वमाथि प्रकाश पार्दै स्थानीय बासिन्दाहरूलाई यस्ता सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो ।प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता रचनात्मक र सामाजिक महत्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी रक्तदाताहरूलाई गाउँपालिकाले सम्मान पत्र र स्वास्थ्य सम्बन्धी आधारभूत जाँचको सुविधा पनि प्रदान गरेको थियो ।

Leave a Reply