२०६५ साल जेठ १५ गतेपछि पूर्व राजा भएका ज्ञानेन्द्र शाह अहिले मध्य मधेसको भ्रमणमा रहनुभएको छ । त्यसो त बारा तथा पर्सा पूर्व राजाका लागि नौलो ठाउँ त होइन । आफू राजा भएपछि पनि अघि पनि र पूर्व भएपछि पनि कयौं पटक आइरहने ठाउँ हो ।सिमरामा रहेका पूर्व राजाले पछिल्लो समय केही धार्मिक गतिविधि पनि गरिरहेको देखिन्छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पको खोजी भइरहेको दाबी गरिएको बेला र कही कतै पूर्व राजाको समेत सक्रिय शासनको माग समेत भइरहेको अवस्थामा ज्ञानेन्द्र शाह मधेसमा हुनुहुुन्छ ।आफ्नो दाजु बीरेन्द्रको बंशनासपछि राजा भएका ज्ञानेन्द्रलाई नागरिकहरुले सहज रुपमा राजा अस्वीकार गरेकाले र राजनीतिक दलप्रति ज्ञानेन्द्र शाहले लिएको नीतिका कारण पनि राजतन्त्र नेपालबाट बिदा भएको धेरैको भनाई छ । उमेरले करिब ८० को दशकमा पुग्नै लाग्नुभएका ज्ञानेन्द्र शाहले कसरी फेरि शासन गर्नुहोला भन्ने एकथरीको भनाई पनि छ ।राजतन्त्र जनताले हटाएका थिए, नेताले होइन । अहिले नेताहरुको क्रियाकलापबाट जनता आजित भएर राजाको कुरा गरेका हुन् तर अब फेरि ज्ञानेन्द्र शाह नै राजा भएर यो देशमा जादुको छडी जसरी आमुल परिवर्तन पनि हुने संभावना छैन ।ज्ञानेन्द्र शाहले धार्मिक गतिविधि गर्न नागरिकको हिसावले पनि पाउने अधिकार छ तर यसैका आधारमा अहिले नै नेपालमा ज्ञानेन्द्र शाहको शासनको कल्पना नगरौं बरु यो गाण्तन्त्रलाई संस्थागत गरौं अनि शासकमुखी भएका नेताहरु पनि जनमुखी बनुन् ।


















