खासगरी काठमाडौं उपत्यका सहित तराई मधेसका जिल्लाबाट दशैँ मान्न घर जानेहरुको भीड बढ्न थालेको छ । अग्रिम टिकट बुकिङ गरेसँगै उपत्यका छाड्नेको संख्या बढ्न थालेको हो ।यो क्रम घटस्थापनादेखि तीव्र छ । तर सडकको दूरावस्थाको कारण सडकमार्गको यात्रा अत्यन्तै कठिन बनेको छ । उपत्यकाबाट बाहिरिने अधिकांश सवारीसाधनलाई तोकिएको दूरी पार गर्न घण्टौँ लाग्ने गरेको छ । नारायणगढ–मुग्लिङ, नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने, बुटवल–पाल्पा, बीपी राजमार्ग, अरनिको राजमार्ग, काठमाडौँदेखि दक्षिणकाली, फाखेललगायत अधिकांश सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ ।केही दिनअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले दशैँअघि सबै राजमार्गको सडक मर्मत गर्न, खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए । निर्देशन हालसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।त्यसो त ट्राफिक प्रहरीले यो वर्ष झन्डैँ २५ लाख जनसंख्याले उपत्यका छाड्ने आँकलन गरेको छ । दशैँमा घर जानेको संख्या बढेसँगै राजमार्गको दयनीय अवस्था देखेर व्यवसायी दिक्क छन् । हरेक दशैँमा जोखिमपूर्ण सडकको तत्काल मर्मत गर्नुपर्ने विषय उठ्ने गरेको छ । तर सरकार सधैँ मुकदर्शक बनेको छ । यात्रा सहज बनाउन सरकारले ठोस कदम चाल्नुपर्छ । उपत्यका छाड्नेले यो वर्षमात्र होइन वर्षौंदेखि सुरक्षित यात्रा गर्न सकेका छैनन् ।सरकारले यस विषयमा न चासो देखाएको छ, न त सडकमार्गलाई सुविधाजनक बनाउन पहल गरेको छ ।
हरेक वर्षको दशैँ–तिहारमा सडक मर्मतको कुरा उठ्छ तर चाडबाड सकिएपछि एक वर्षसम्म चुइँक्क बोलिँदैन । अनि बाराको राजमार्ग क्षेत्रमा पनि यो समस्या छ । बाराका राजमार्गहरुमा यात्रा गर्ने यात्रुहरुको पनि समस्याका विषयमा सोच्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here