सिमरा,मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन अझै ३ महिनाभन्दा बढी कुर्नुपर्ने देखिएको छ । आगामी ३ साताभित्र सम्पन्न गर्नुपर्ने पाइप लाइन परियोजनाको काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्धारित समयमा नसकिने भएको हो ।

नेपाल आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख विनितमणी उपाध्यायले यही गतिमा काम गर्दा पनि ठेकेदार कम्पनीलाई अझै ३ महिना लाग्ने बताउनुभयो । ठेकेदार कम्पनीले दैनिक बिहान ८ बजेदेखि राति ८ बजेसम्म काम गर्दै आएको छ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको काम यही मार्चभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म ६५ देखि ७० प्रतिशतमात्रै काम सम्पन्न भएको निगमले जनाएको छ ।भारतीय आयल कर्पोरेसनसँगको सम्झौता अनुसार पाइप लाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । निगमको अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणका लागि ४ वटा ट्याङ्की र २ वटा फायर वाटर ट्याङ्की निर्माणको काम भइरहेको छ ।

पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी छ ।
निगमका अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले पेट्रोलियम ट्याङ्की वेल्डिङ्गको काम सकिएर चुहावट चेकजाँचको काम भइरहेको बताउनुभयो । जति नै दौडधुप गरे पनि अबको १८ दिनभित्र पाइप लाइन परियोजनाको काम सक्ने अवस्था नदेखिएकाले भारतीय आयल कर्पोरेसनसँग छलफल गरेर निगमको सञ्चालक समितिको प्रस्तावमा माथिल्लो तहबाटै कारणसहित म्याद थपको प्रकियामा जानुपर्ने उपाध्यायको भनाई छ ।मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइप लाइनबाट डिजेल आयात सुरु भएको थियो । दोस्रो चरणको काम भने सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो । पाइप लाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा छ । जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो । आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गरेको छ ।यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पाइप लाइन परियोजनाको दोस्रो चरणको काममा म्याद थप नगर्ने बताएका छन् । भट्टलाई सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा ३ साताअघि नियुक्त गरेको हो ।

Leave a Reply