कुनै पनि उपभोक्ताले स्वस्थ खानेकुुरा खान पाउनुपर्दछ । यो नेपालको संबिधानले प्रत्याभूत गरेको विषय हो । संबिधानले हरेक उपभोक्तालाई स्वस्थ खानेकुराको प्रयोग गर्न पाउने अधिकार दिएको छ । तर संंबिधानले स्पष्ट अधिकार दिएको भएपनि नेपाली समाजमा उपभोक्ता सचेत नहुँदा आफै ठगिने गरेका छन् । यो कुरा बारा जिल्लाको हकमा बढी लागु हुने गरेको छ । हुन त देशका अन्य भागमा पनि यो समस्या छ । तर बढी बारामा देखिन्छ ।
बाराको सदरमुकाम कलैयामा नै यस्तो समस्या आएपछि सरकारी अधिकारीहरुले अनुगमन गर्दा समेत राजनीतिक संरक्षणले यो दोहोरिएको पनि छ ।बाराको जीतपुरका एकजना मासु व्यवसायी मिश्री देवानले आम उपभोक्ताहरुको स्वास्थ्यमा मात्र नभइ पशुअधिकारको समेत हनन् गरेका छन् । उपभोक्ताहरुले खसी वा बाख्रो मासु पनि खान पाउँछन् । बाख्राको मासु बिक्रीका लागि निषेध पनि छैन तर बाख्राको मासुमा खसीको खण्डकोष नै टाँसेर यस्तो हर्कत गरेर मासु बिक्री गर्नु चाही अपराध नै हो । यसरी उपभोक्ताहरुको अधिकारमाथि खेलवाड गर्ने यस्ता देवानहरुलाई कारबाही हुनुपर्दछ । अझै यस्तो अपराधमा राजनीतिक रंग दिने कार्य गर्नहुन्न । विगतमा यो अभ्यास भएको देखिन्छ ।
सांसद काठमाडौंमा बस्ने हो उपभोक्ता यही गाउँमा बस्ने हुन । कुनै कारणले यस्ताको पक्षमा कोही माननीयले बोल्दैमा उनको पक्षमा कानुन जांदैन । बारा प्रशासनले कडाइसाथ यस्तालाई कारबाही गरोस् । एक पटक माफी वा नेताको आड भरोसा पाउँदा झन् मनोबल बढेको देखिन्छ । यस्तो नहोस् कडा कारबाही होस् ।

















