पुष्पराज खतिवडा
मनहर्वा,बाराका व्यवसायीले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीकर्जा मार्गदर्शन २०७९ खारेजीको माग राख्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिएका छन । जीतपुरसिमरा नगर उद्योग बाणिज्यको अगुवाईमा भैरहेको आन्दोलनको क्रममा मंगलबार बाराको डुमरवानमा व्यवसायीले कर्जा मार्गदर्शन खरेजको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले राष्ट्र बैंकको मार्गदर्शनले साना व्यवसायी मारमा परेको बताउनुभयो । ‘मार्गदर्शन आएसँगै बैंक वित्तीय संस्थामा कर्जाको ब्याज दर बढेको छ । हिजो कमाईको केही अंश ब्याज तिर्ने व्यवसायीहरु आज कमाएको सबै रकम ब्याजमा तिर्न बाध्य बनेका छन् । जस्का कारण साना व्यवसाय धरासायी हुने अवस्था आएको छ ।’ शर्माले भन्नुभयो ।
कोरोना महामारीबाट तंग्रिन थालेका व्यवसायीलाई राष्ट्र बैंकको मार्गदर्शन गलपासो बनेको नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गुनासो गर्नुभयो । महासचिवगिरीले भन्नुभयो, ‘व्यवसाय बन्द गरेर सडकमा आउनु विकल्प देखिएन । राज्यले समस्याको छिटो उचित समाधान गरोस् भन्न चाहन्छौं । उहाँले भन्नुभयो हामी साना व्यसायी महँगो कर्जा चलाउन सक्दैनौं । बैंकलाई निर्दयीढंगले परिचालन गर्ने राष्ट्र बैंकले हाम्रा समस्या बुझिदियोस् भन्ने चाहन्छौं ।’
हस्ताक्षर संकलन कार्यक्रममा सहभागी व्यवसायीहरुलाई कोरोना महामारी, आर्थिक मन्दी, त्यसमाथि कर्जामा गरिएको ब्याज वृद्धिले समस्या बनाएको बताउनुभयो । यही अवस्था रहिरह्यो भने आफूहरु व्यवसाय छाडेर अन्यत्र पलायन हुनपर्ने दिन आउनसक्ने उहाँले बताउनुभयो ।
व्यवसायीहरु संकटमा परेको बताउदै समस्या समधान गर्ने बारेमा राज्यले समयमै ध्यान दिर्नुपर्ने अर्का व्यवसायी प्रदिप चौधरीले बताउनुभयो । जिल्लाका विभन्न ठाउँबाट संकलित हस्ताक्षर राष्ट्र बैंकका गर्भनर, संघीय सरकारका अर्थमन्त्री र प्रधानमन्त्रीलाई बुझाइने नगर उद्योग बाणिज्य संघका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।


















