वीरगञ्ज,नेपालको छिमेकी मुलुक भारतको बिहार राज्यमा कोभिड– १९ (कोरोना भाइरस) को सङ्क्रमण पुनः तीव्र गतिमा फैलिन थालेसँगै नेपालमा पनि जोखिम बढेको छ ।बिहारको राजधानी पटनामा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । यो सँगै जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सङ्क्रमितहरूमा एम्स पटनाकी एक महिला चिकित्सक, दुई नर्स र एक अस्पताल कर्मचारी रहेका छन् ।
सङ्क्रमितहरूलाई अस्पतालमा विशेष निगरानीमा राखेर उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहारका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको सम्पर्कमा आएकाहरूको तीव्र गतिमा परीक्षण सुरु गरेको र सङ्क्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् ।
सीमावर्ती राज्य विहारमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । विशेषगरी वीरगञ्ज–रक्सौल नाका हुँदै नेपालमा सङ्क्रमण भित्रिन सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन थालिएको स्थानीय प्रशासनले जनाएको छ ।रक्सौल नाका नेपालको प्रमुख आर्थिक केन्द्र वीरगञ्जसँग जोडिएको व्यस्त सीमा क्षेत्र भएको र यहाँबाट दैनिक हजारौँ मानिसको आवतजावत हुने भएकाले स्वास्थ्य विज्ञहरूले नाकामा कडा स्वास्थ्य जाँचको व्यवस्था गर्न सुझाएका छन् । सीमा क्षेत्रमा सतर्कता बढाउन र स्वास्थ्य परीक्षणको व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।


















