सिमरा,नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सचिवमा बाराका मोबिन आलम निर्वाचित हुनुभएको छ ।
दसौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पोखरामा भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार क्षितिज थेवेको समूहमा चुनाव लड्नुभएका आलम लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो ।सचिव (मधेसी) पदमा आलमले सात सय ४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार चितरञ्जन यादवले चार सय ८० मत प्राप्त गर्नुभयो । आलम दुई सय ६३ मतको मतान्तरले निर्वाचित हुनुभएको हो ।
आलम युवा संघमा दोस्रो पटक केन्द्रीय सचिवमा निर्वाचत हुनुभएको हो । यसअघि नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले वर्तमान अध्यक्ष थेवेको नेतृत्वमा सर्वसम्मत् कार्यसमिति चयन गर्दा आलम सचिव चुयन हुनुभएको थियो ।
नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहनुभएका इन्जिनियर आलम युवाबीच लोकप्रिय हुनुहुन्छ । उहाँ पूर्व सांसद नेजमा खातुन र नेकपा एमालेका स्वर्गीय नेता महमुद आलमका छोरा हुन् ।यसैगरी केन्द्रीय सदस्यमा बाराका तीन जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा परवानीपुरका रामजी यादव (राम), जीतपुरसिमराकी लक्ष्मी आचार्य (भावना) र निजगढकी शर्मिला केसी (दीपिका) रहेका छन् । यादव मतदान प्रक्रियाबाट निर्वाचित हुनुभएको हो भने अन्य दुई जना निर्विरोध भएका थिए । यादवले ७१ मत प्राप्त गर्दा निजगढका विजय तिमिल्सिनाले ३० मत पाउनुभएको थियो ।
यादव नेकपा एमाले परवानीपुर गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने आचार्य एमाले बारा जिल्ला कमिटीकी उपसचिव हुनुहुन्छ ।


















