नरेश गुप्ता

बरियारपुर,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बारा जिल्लामा गत आर्थिक वर्षमा विपद व्यवस्थापनको लागि १६ लाख खर्च भएको जानकारी दिनुभएको छ ।
विपदमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग र विपदमा परेका अन्य समुदायमा राहत वितरण जस्ता शीर्षकमा उक्त रकम खर्च भएको प्रजिअ पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार यो अवधिमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु पहिरोमा परी ज्यान गुमाएका जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ६ जनाका परिवारलाई दुई÷दुई लाखको दरले १२ लाख रकम प्रदान गरिएको छ । सिन्धुपाल्चोक पहिरोमा बिकला थिङ्ग, राजेश धामी, शिवबालक धामी, शिमल घलान, सोनम माझीको ज्यान गएको र मृतकका आफन्तलाई जिप्रकाले आर्थिक सहयोग गरेको हो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले घरमा आगलागी भएर क्षेति बेहोरेका फेटा गाउँपालिका वडा नम्बर १ निवासी जादोलाल महतो कोइरी र हिरालाल महतो कोइरीलाई क्षतिपूर्ति बापत एक÷एक लाखका दरले आर्थिक सहयोग गरेको छ । त्यस्तै शितलहरबाट पिडित विपन्न र गरिब परिवरलाई न्यानो कपडा पनि बितरण गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
नेपाल सरकारले विपद व्यवस्थापनको नाममा उपलब्ध गराएको रकम जिल्ला प्रशासन कार्यलयमार्फत विभिन्न शीर्षकमा खर्च गरी बाँकी रकम विपद व्यवस्थापनको कोषमा राखिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । कोषमा हाल करिब दुई करोडभन्दा बढी रकम रहेको बताइएको छ । हरेक वर्ष जिल्लामा बाढी, आगलागी, चट्याङ, शितलहर जस्ता प्रकृतिक प्रकोपबाट प्रभावित र मृत्यु हुने परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत स्वरुप आर्थिक सहयोग गर्दै आएको छ ।


















