कलैया,बारामा उत्पादित आलु र गोलभेँडामा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँका बजारमा प्रतिबन्ध लगाइएको छ ।नेपाल सरकारले सूचीकृत गरेको विषादी औषधीको सट्टा कृषि विज्ञको सल्लाहबिना अन्य विषादी औषधी प्रयोग गरेका कारण काठमाडौँको कालीमाटी तरकारी बजारमा यहाँबाट उत्पादित आलु र गोलभेँडा बिक्रीमा प्रतिबन्ध गरिएको कृषि ज्ञान केन्द्र कलैयाका बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताउनुभयो ।
विषादी तरकारीको प्रयोग तथा खपत अन्य जिल्लाको तुलनामा आफ्नै जिल्लामा बढी हुने भएकाले त्यसको असर प्रत्यक्ष रूपमा सिम्रौनगढ र फेटामा परेको छ । सो ठाउँमा २५ देखि ३० जना बालबालिका र युवामा विषादी औषधीको असर देखिएको मियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विषाक्त खानाको कारण सो गाउँका ५ वर्षदेखि ४० वर्ष उमेर समूहमा मानिसमा सुस्तमनस्थिति, किड्नीमा समस्या, अन्धोपन, उच्च रक्तचाप, हातखुट्टा बाङ्गो हुने जस्ता समस्या देखिएको छ ।”
मियाँका अनुसार चम्किलो, सुन्दर, राम्रो र आकर्षित हरियो तरकारीमा विषादीको मात्रा बढी रहन्छ । उहाँ बजारमा बिव्रmीका लागि राखिएको मलिन, किरा लागेको तरकारी प्रयोग गर्न वा अर्गानिक मलबाट उत्पादन गरेको वस्तु उपभोग गर्न उपभोक्तालाई सल्लाह दिनुभयो ।यसै गरी मधेश प्रदेशको आठ वटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीबाट १९० वटा कृषि उत्पादित वस्तुको नमुना सङ्कलन गरी जाँच गर्दा ४५ प्रतिशत खानयोग्य नरहेको बाली संरक्षण प्रयोगशाला सिराहाका कार्यालय प्रमुख मोहन महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “३४ प्रतिशत खानयोग्य र ३५ देखि ४५ प्रतिशत हरियो तरकारी क्वारेन्टाइनमा पाँचदेखि सात दिन राखेपछि खानयोग्य भएको पाइयो ।” विगत दुई वर्षदेखि कृषिजन्य पदार्थलगायतका वस्तु जाँच शीर्षकमा बजेट नआएका कारण नवलपुर, जलेश्वर र वीरगन्जको प्रयोगशालामा विषादी जाँच नभएको महतोले बताउनुभयो ।
नेपालमा खपत हुने विषादीको पाँच भागको चार भाग तरकारी खेतीमा प्रयोग हुने गरेको तथ्याङ् केही वर्षअघि नै सार्वजनिक भएको थियो । बाली संरक्षण निर्देशनालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ पोखरा र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले २०७५ वैशाख ११ गते पोखरामा गरेको तरकारी तथा फलफूलमा विषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी कार्यममा सार्वजनिक गरेको थियो ।सन् २०१५-१६ मा ५७५ टन विषादी नेपालमा खपत भएको थियो, त्यसमध्ये ८० प्रतिशत भन्दा बढी विषादी तरकारीमा मात्र प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युतप्रसाद ढकालले तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो । हरेक वर्ष ६९ करोड रुपियाँ बराबरको विषादी खपत हुँदै आएको उहाँले जानकारी दिनुभयो ।



















