सप्तरी,मधेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सप्तरी जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकामा विभिन्न विकास योजनाहरूको शिलान्यास गर्नुभएको छ ।मन्त्री लेखीले सप्तकोशी नगरपालिका ८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेस सरकारको ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको अतिथि भवन शिलान्यास गर्नुभएको हो । सोही स्थानमा ५० लाख रुपैयाँको लागतमै निर्माण हुने पर्खालको समेत शिलान्यास गरिएको छ ।
यसैगरी मन्त्री लेखीले वडा नम्बर ११ मलेठ पश्चिम टोलमा २५ लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको धर्मशालाको समेत शिलान्यास गर्नुभएको हो । साथै कञ्चनरुप नगरपालिका ५ पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको भवन पनि शिलान्यास गरिएको छ ।
यसैगरी मन्त्री लेखीले कञ्चनरुप नगरपालिका ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन र कक्षा कोठाको निरीक्षण गर्नुभएको छ ।शिलान्यास तथा निरीक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दिवाकर देवकोटा, सप्तकोशी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष केदारप्रसाद साह, वडा नम्बर २ का अध्यक्ष जाहुर हुसेन, वडा नम्बर ११ का अध्यक्ष डोलेश्वर खड्गा, कञ्चनरुप वडा नम्बर७ का अध्यक्ष समानन्द चौधरी, एमाले नेता तनुकलाल शर्मालगायतको उपस्थिति रहेको थियो ।

















