बुधबार क्रिसमस पर्व नेपालमा पनि मनाइयो । धार्मिक आस्था व्यक्तिको नैसर्गिक अधिकार हो। यसमा कसैको हस्तक्षेप हुनुहुँदैन। कुन धर्म रोज्ने भन्ने विषय व्यक्तिगत स्वतन्त्रतासँग गाँसिएको विषय हो। यो लोकतन्त्रको आधारभूत मूल्य र मान्यतासँग सम्बन्धित विषय हो।२०६२–२०६३ को जनआन्दोलनपछि नेपालमा क्रमशः धर्म्निरपेक्षताको मान्यता स्थापित हुँदै गएको छ। इसाई, इस्लामिक र अन्य धर्मावलम्बीहरूको पर्वमा राष्ट्रप्रमुख र सरकारप्रमुखदेखि दलका नेताहरूले समेत शुभकामना सन्देश वक्तव्य प्रकाशित गर्ने गरेका छन्।
डिसेम्बर २५ का दिन क्रिसमसका उपलक्ष्यमा नेपालका इसाई धर्मावलम्बीहरूलाई पनि यस्ता सन्देशहरू प्राप्त भए, उनीहरूलाई आफ्नो प्यारो पर्व आत्मसम्मानका साथ मनाउने वातावरण सिर्जना भयो। यसलाई धार्मिक सभ्यताका रूपमा स्वीकार गरिनुपर्दछ।अमुक धार्मिक आस्था राखेको वा कुनै धर्म मानेकै आधारमा देशका कुनै पनि नागरिकले आफू विभेदमा परेको महसुस गर्नुनपर्ने अवस्थाको सिर्जना गराउनु राज्यको प्राथमिक दायित्व हो। राज्यको यो दायित्व व्यक्तिको समानताको हकको मर्म पनि हो।
मानवअधिकारको विश्वव्यापी घोषणापत्र र संविधानको मौलिक हकसँग पनि जोडिएको यस विषयलाई व्यवहारमा प्रत्याभूत गर्न राज्य हरहमेशा तयार भइरहनुपर्दछ। क्रिसमसको दिन राष्ट्रप्रमुख र कार्यकारी प्रमुखबाट शुभकामना सन्देश आउनुलाई सोही हक र दायित्वको प्रतिबद्धताको रूपमा लिन सकिन्छ।लोकतान्त्रिक व्यवस्थाको आगमन अघिसम्म राज्यले एक धर्म, एक भाषा र एक संस्कृतिलाई पक्षपोषण गरेको थियो।