निजगढ,बिहीबार साँझ आएको हावाहुरीले निजगढका किसानको लाखौं मूल्य बराबरको केराबालीमा क्षति पु¥याएको छ । हुरीमै परेर पर्सा र गोरखा जिल्लामा २ जनाको ज्यानसमेत गएको छ ।विनासकारी हावाहुरीबाट केरासंगै निजगढका किसानको मकै र फलफूल बाली तथा घरगोठको समेत छाना उडाएर क्षति गरेको हो ।

हुरीले निजगढ क्षेत्रमा लगाइएको २ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको केरा तथा फलफूल उत्पादक संघ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले क्षतिको सबै विवरण प्राप्त भइनसकेको भएपनि प्रारम्भिक विवरण अनुसार २ करोड मूल्य बराबरको केराबाली क्षति भएको बताउनुभाये । अध्यक्ष श्रेष्ठले भर्खर पसाएको र पाक्ने बेला भएको केराको बोट ढालेर हुरीले सोत्तर पारेको बताउनुभयो ।

त्यसैगरी विनासकारी हावा हुरीका कारण निजगढ नगरपालिका विभिन्न वडाका स्थानीयको घर गोठमा समेत क्षति गरेको छ । घरको छाना उडाएपछि दर्जनौं सर्वसाधारण बिचल्लीमा परेका छन ।यसैबीच निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले हुरीले क्षति गरेको केरा बाली र घर गोठको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । नगर प्रमुख पुरीले वडा नम्बर ४, ५, ६, ११, १२ र १३ मा पुगेर क्षतिको अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा उहाँले हावा हुरीका कारण केराबालीमा नोक्सान बेहोर्नु परेका र घर गोठका छाना उडाएर बिचल्लीमा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै जनप्रतिनिधि र स्थानीयसंग अनुरोध गर्नुभएको थियो । उहाँले क्षतिको विवरण संकलन गरेर नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकमार्फत गर्नुपर्ने सहयोगको बारेमा निर्णय गरिने पनि बताउनुभएको छ ।
उता, हुरीमा परेर पर्सा र गोरखामा २ जनाको ज्यान गएको छ । पर्साको विन्दबासिनी गाउँपालिका वडा नम्बर २ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै सोही दिन आएको हावाहुरीले रौतहटमा घरका छाना उडाउँदा लाखौँको क्षति भएको छ । हावाहुरीले विद्युत् पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीले चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित सत्यनारायण भगतको घरको छाना उडाउँदा ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वडा नम्बर ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा नम्बर ६ का भिमाबिर पहरी, वडा नम्बर ४ का सुन्तली पहरी, धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाउँदा २० लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिनुभयो ।

चन्द्रपुरमा ५० भन्दा बढी विद्युतका पोल ढलेका छन् । विद्युत् पोल ट्रान्सफर्मर र अन्य उपकरण गरी ३० लाखभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताउनुभयो । यता वर्षासँगै आएको हावाहुरीले गोरखामा पनि एक जनाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उहाँको मृत्यु भएको अध्यक्ष थापाको भनाई छ । हावाहुरीका कारण दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र किसानको बालीमासमेत ठूलो क्षति पुगेको छ ।

Leave a Reply