वीरगन्ज,निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको पर्साको चमरी– ठोरी सडकखण्डमा धाँजा फाटेको छ । दुई दिनदेखिको वर्षाका कारण हुलाकी सडक खण्डमा धाँजा फाटेको हो । निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको स्थानीयले आरोप लगाएका छन् । हुलाकी सडकअन्तरगत पर्साको चमरीहोलदेखि–ठोरीखण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको हो । पुल नजिकै एकातर्फको भाग चिरा परेर भासिन लागेको स्थानीय नातिकाजी सुनारले जानकारी दिनुभयो । सडकमा धाँजा फाटन थालेपछि आवागमन नै अवरुद्ध हुने स्थिति रहेको उहाँले बताउनुभयो । झण्डै १५ मिटरसम्म धाँजा फाटेको उहाँले बताउनुभयो ।

हुलाकी सडकको दोस्रो प्याकेज अन्तरगत ३० किमी लामो खण्ड निर्माणको ठेक्का कालिका– बानियाँ जेभीले पाएको थियो । २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको काम २०७७ जेठ २ सम्ममा सम्पन्न गरिसक्नु पर्ने थियो । लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिना थप म्याद थपिएको थियो । त्यस अवधिमा पनि ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै सडक हस्तान्तरण गरिएपछि स्थानीयले त्यतिबेला नै विरोध गरेका थिए । मुआब्जा विवाद, अदालतको स्टे–अर्डर र रूख काट्नमा चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिएको र स्थानीयको अवरोधका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउँदै आएको छ ।

Leave a Reply