१० मंसिर, काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ। अघिल्लो दिन बुधबार नेप्से ८.६६ अंकले बढेको थियो।

बजार परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ। बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार घटेर ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १७९ वटाको मूल्य घटेको छ। त्यस्तै, १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

लगानी समूहबाहेक सबै उपसूचकमा गिरावट

बिहीबार कारोबार भएका समूहगत उपसूचकमध्ये लगानी समूह मात्रै ०.७२ प्रतिशतले बढेको छ। बाँकी सबै समूहका सूचक घटेका छन्।

बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, वित्त ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.६२ प्रतिशत र जलविद्युत् समूह ०.०९ प्रतिशतले घटेका छन्।

त्यसैगरी, जीवन बीमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत, अन्य समूह ०.१३ प्रतिशत र व्यापार समूह १.५२ प्रतिशतले घटेका छन्।

युनिक नेपाल लघुवित्तको मूल्यमा सबैभन्दा बढी वृद्धि

बिहीबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ। गार्डियन माइक्रोलाइफको ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यता, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ। सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य समान ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३।४१ प्रतिशतले घटेको छ।

कारोबारमा यी कम्पनी अगाडि

कारोबार रकमका आधारमा बिहीबार हिमालय ऊर्जा विकास कम्पनी सबैभन्दा अगाडि रहेको छ। त्यसपछि पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक क्रमशः बढी कारोबार हुने कम्पनीमा परेका छन्।

Leave a Reply