मधेश पर्यटकीय हिसवाले पनि निकै महत्वपूर्ण स्थान हो । “घुमौं मधेश, बुझौं मधेश” मूल नाराका साथ मधेशमा पर्यटन प्रवद्र्धन हुने भएको छ ।नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले पर्यटन प्रवद्र्धनका लागि गर्न लागेको कार्यक्रम निकै महत्वपूर्ण छ । यसले मधेशको पर्यटन प्रवद्र्धन मात्र नभइ मधेशको विकास पनि हुनेछ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेश र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका पर्यटन व्यवसायी, सरकारी प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको बैठकले गरेको घोषणा महत्वपूर्ण पनि छ ।
विशेषगरी पर्साको ठोरीमा दिनभर विभिन्न कार्यक्रम गरी पर्यटन स्थलको अवलोकन तथा प्रवद्र्धनात्मक गतिविधि समेत गरेको छ । ठोरी आफैमा एक महत्वपूर्ण स्थान हो । विगतको एक नाका पनि हो । ठोरी जस्तै मधेशका धेरै ठाउँहरु छन्, पर्यटन प्रवद्र्धनका लागि । यस्ता स्थानहरुको मधेश सरकारले पनि पहिचान गरी देशलाई चिनाउन आवश्यक छ ।
पर्यटन प्रवद्र्धनका लागि मधेश प्रदेश सरकार सहित स्थानीय सरकारहरुले पनि नीति बनाउन आवश्यक छ । मधेशमा धेरै पर्यटकीय स्थानहरु छन् र यसको प्रवद्र्धन गर्न सके आन्तरिक कमाइ पनि हुनेछ । नागरिकहरुको जीवन स्तर पनि बढ्ने छ । त्यसैले यो कार्यक्रमले पर्यटन प्रवद्र्धनका लागि कोसेढुंगा हुने विश्वास लिन सकिन्छ ।
















