हेटौडा,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालय मातहतका १२ जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा एक हजार पाँच सय ६४ वटा उजुरी दर्ता भएका छन्। कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मधेश प्रदेशका रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले दिएको जानकारी अनुसार, चालु आर्थिक वर्षको १० महिनामा रौतहटमा ४३०, बारामा ३९७ र पर्सा जिल्लामा ३५२ वटा स्थानीय तहसम्बन्धी उजुरी दर्ता भएका छन्। यस अवधिमा सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ, जहाँबाट जम्मा तीन–तीन वटा मात्रै उजुरी दर्ता भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले मधेश प्रदेशका स्थानीय तहमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै सुशासन कायम राख्न जोड दिनुभयो । उहाँले स्थानीय तहले सुशासन कायम गर्दै देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्नुपर्ने बताउनुभयो । साथै, अख्तियारमा उजुरी पर्दैमा डराउनु नपर्ने उहाँको भनाई थियो।प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार, स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरै उजुरी आउने गरेको पाइएको छ। गत आर्थिक वर्षमा हेटौँडा कार्यालय मातहतका १२ जिल्लामा नौ सय १८ वटा उजुरी दर्ता भएका थिए।
चालु आर्थिक वर्षको १० महिनामा अख्तियार कार्यालय हेटौँडाले एक हजार ३९ वटा उजुरी फछ्र्यौट गरेको छ। कार्यालयका अनुसार अझै पाँच सय २५ वटा चालु आवका र चार सय ६४ वटा गत आवका उजुरी फछ्र्यौट गर्न बाँकी छन्।
हेटौँडा कार्यालय मातहत मधेश प्रदेशका तीन (रौतहट, बारा, पर्सा) र बागमती प्रदेशका नौ (मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपालाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछाप) जिल्ला पर्दछन्।



















