कलैया,पचरौता नगरपालिकामा आधुनिक प्रविधिसहितको दन्त अस्पताल तथा फिजियोथेरापी सेवा शुभारम्भ गरिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले दन्त अस्पताल र फिजियोथेरापीको शुभारम्भ गरेका हुन् ।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएका नगर प्रमुख सिंहले उद्घाटन समारोहलाई सम्बोधन गर्दै आधुनिक प्रविधिसहित दक्ष विशेषज्ञबाट उक्त सेवा प्रदान गरिने जानकारी दिनुभयो । पचरौता नगरबासीलाई स्वास्थ्य सेवा सहज बनाउने उदेश्यसहित आफूले दन्त र फिजियोथेरापी सेवा शुभारम्भ गरेको नगर प्रमुख सिंहले बताउनुभयो ।उक्त सेवा सुरु भएसंगै दन्त र फिजियोथेरापीका लागि अब पचरौताका स्थानीयले अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । नगरमा सेवा नहुँदा स्थानीयलाई कलैया र वीरगञ्जसम्म पुग्नुपर्ने बाध्यता थियो । नगर प्रमुख सिंहले सुविधा सम्पन्न अस्पतालसहित नगरमा सिँचाईकालागि जमुनी नदीको कच्ची बाँध निर्माण, शिक्षा, खानेपानी, सामूहिक विवाहको आयोजनालगायतका योजनालाई प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो ।



















