सिमरा,३२औं मदन–आश्रित स्मृति दिवस तथा बारा सिमराका स्वर्गीय निर्मल क्षेत्रीको सम्झनामा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले शनीवार डुमरवानामा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ ।एमाले पोलिटब्युरो सदस्य तथा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनकोसाथै विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले सन् १९९० को दशकमा पूर्वी युरोपमा कम्युनिष्टहरुले धक्का खाइरहेको बेला मदन भण्डारीले अगाडि सारेको जबजले कम्युनिष्ट आन्दोलनमा नयाँ उर्जा थपेको स्पष्ट पार्नुभयो । उहाँले जीवराज आश्रित कुशल संगठन समेत रहेको जानकारी गराउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले पार्टीलाई सबै मिलेर अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वनगर इन्चार्ज मञ्जु थापाले नगर कमिटीले मिसन ८४ लाई सफल बनाउन एकजुट भएर काम गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले ३२ वर्षअघि मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद कार्यक्रम अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्नुभयो । उहाँले सामन्तवाद र साम्राज्यवादी उत्पीडनबाट जनतालाई मुक्ति दिलाउनको लागि जबज कोसेढुंगा सावित भएको स्पष्ट पार्नुभयो । उहाँले निर्मल क्षेत्रीले बारा जिल्लामा नेकपा एमाले पार्टीको लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै विद्यार्थी आन्दोलनको जग समेत बसालेकाले सबैले स्मरण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु देवनारायण चौधरी, चयन गुरुङ, एमाले जिल्ला सचिवालय सदस्य तथा पूर्वनगर अध्यक्ष भोलाप्रसाद अधिकारीलगायतले मदन भण्डारी– जिवराज आश्रित र निर्मल भट्टको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको उपमहानगर कमिटीका सचिव रविन्द्रराज भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

















