निजगढ,निजगढमा भएको नगर स्तरीय खुल्ला तेक्वान्दोमा १३ स्वर्ण सहित ४० पदक जितेर निजगढ ९ को जनज्योति तेक्वान्दो डोजाङ्गले प्रतियोगिताको ट्रफी हात पारेको छ । प्रतियोगितामा पहिलो भएको जनज्योतिले नगद ३० हजारसंगै ट्रफी जितेको छ । जनज्योतिले १० रजत र १७ वटा कास्य पदक जितेको छ भने नेत्रोदयले ९ रजत र १० कास्य पदक जितेको छ ।
त्यसैगरी प्रतियोगितामा दोस्रो भएको नेत्रोदय मावि डोजाङ्गले १३ स्वर्णसहित ३२ पदक जितेको छ । उसले २० हजार नगद पुरस्कार पाएको छ ।त्यसैगरी प्रतियोगितमा तृतीय स्थान हासिल गरेको नेरामावि सिगौंलले २६ वटा पदक जितेको छ । नेरामावि सिगौंलले ८ स्वर्ण, ८ रजत र १० वटा कास्य पदक जितेको थियो । उसले १० हजार पुरस्कार पाएको छ ।
पुम्सेतर्फ मिक्स डबल र पुरुष सिङ्गल तर्फको स्वर्ण पदक जनज्योतिले जितेको छ । पुम्से महिलातर्फ भने नेरामावि सिंगौल डोजाङ्गले स्वर्ण जितेको थियो ।प्रतियोगितामा बारा निजगढ डोजाङ्गले ५ रजत र ११ कास्यसहित १६ पदक जितेको छ भने स्मार्टसिटी डोजाङ्गले २ रजत र ६ कास्यसहित ८ वटा पदक हात पारेको छ । सत्यश्वर डोजाङ्गले ४ कास्य पदक हात पारेको छ ।
त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ नेत्रोदय तेक्वाण्डो डोजाङ्गका बुद्धिनाथ तिमल्सिना र महिलातर्फ जनज्योतिकी गुराश तामाङ्ग सवोत्कृष्ट खेलाडी घोषित भएका छन ।महिला पुरुषको ३४ तौल समूहबीच भएको प्रतियोगितामा निजगढको बारा जिल्ला तेक्वान्दो डोजाङ, श्री नेत्रोदय तेक्वान्दो डोजाङ, श्री जनज्योति तेक्वान्दो डोजाङ, स्मार्ट सिटी बागदेव तेक्वान्दो डोजाङ, श्री नेरामावि तेक्वान्दो डोजाङ र सत्यश्वर तेक्वान्दो डोजाङको सहभागिता रहेको थियो ।प्रतियोगितामा विजयी टोली र खेलाडीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतले पुरस्कार र ट्रफी वितरण गर्नुभएको थियो ।निजगढ नगरपालिका निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारबाट शुरु भएको प्रथम नगरस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता शनीवार सम्पन्न भएको हो ।


















