निजगढ,निजगढ नगरपालिकाले सन्चालनमा ल्याएको दादुरा–रुबेला खोप अभियान अन्तर्गत १२ हजार १४५ जना बालबालिकाले खोप लगाइएको छ ।नगरपालिकाले गत फाल्गुन २० गतेबाट संचालन गरेको अभियानअन्तर्गत ९२.४५ प्रतिशत बालबालिकालाई खेप लगाइएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले जानकारी दिनुभयो ।लामाका अनुसार ९ महिनादेखि ५ वर्षसम्मका ३ हजार ३ सय २१ र ५ वर्षदेखि १५ वर्षसम्मका ८ हजार ८ सय २६ जनालाई दिइएको छ । खोप लगाउने बालबालिकाको यो संख्या बारा जिल्लाका अन्य पालिकाको तुलनमा सबैभन्दा बढी भएको बताइएको छ ।

दोस्रो चरणमा अभियान चलाउने बाराका अन्य पालिकाहरु मध्ये निजगढमा सबैभन्दा बढी प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिनुभयो ।निजगढ नगरपालिकाले १३ वटै वडाका विद्यालय र स्वास्थ्य केन्द्रहरुमा पुगेर स्वास्थ्य शाखाका कर्मचारी र स्थानीय स्वमंसेवकहरुले बालबालिकाहरुलाई खोप दिएका थिए । खोप अभियान प्रभावकारी रुपमा सफल पार्न नगरपालिकाले २६ जना स्वास्थ्यकर्मी, २८ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षक परिचालन गरिएको थियो ।

अभियानअन्तर्गत छुटेकाहरुलाई नगरपालिकाले भोलि फेरि खोप संचालन गर्ने भएको छ । प्रमुख लामाले खोप लगाउन छुटेकाहरुलाई भोलि बिहानबाट निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्र र रतनपुरी स्वास्थ्य चौकीमा राखेर खोप लगाइने जानकारी दिनुभयो ।यसैबीच सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा शुक्रवारसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार झण्डै ३४ प्रतिशतले खोप लगाएका हुन् । खोप लगाएका ३१ जिल्लाले भने प्रतिबेदन बुझाएका छैनन् ।

हिमाली क्षेत्रका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन शुरु भएको छ । हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान शुरु भएको छैन ।सरकारले फागुन १३ गतेदेखि शुरु गरेको दादुरा–रुबेला खोप अभियान चैत ७ गतेसम्म चल्नेछ । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।खोप लगाउन छुटेको भएमा आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन डा गौतमले अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here