निजगढ,नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले दलित समुदायका लागि सुनिश्चित गरिएको शिक्षा तथा अवसरको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।प्रतिनिधि सभाको मंगलवारको शुन्य समयमा बोल्दै बारा क्षेत्र नम्बर १ का सांसद मैनालीले सो कुरा बताउनुभएको हो ।संविधानको धारा ४० लाई उद्धृत गर्दै सांसद मैनालीले राज्यका सबै निकायमा दलित समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्न र प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा उनीहरूका लागि विशेष व्यवस्था गर्नुपर्ने संवैधानिक प्रावधानको स्मरण गराउनुभयो।

उहाँले शैक्षिक, सामाजिक र आर्थिक रूपमा पछाडि परेका डोम, बादी, चमार र मुसहर समुदायका विद्यार्थीहरूलाई लक्षित गरी २०७२ सालदेखि शिक्षा मन्त्रालयअन्तर्गत कार्यान्वयनमा ल्याइएको विशेष छात्रवृत्ति कार्यक्रमको प्रशंसा गर्नुभयो। उक्त कार्यक्रम अन्तर्गत विश्व विद्यालय अनुदान आयोगमार्फत करिब २७ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएर उनीहरूलाई चिकित्सक र इन्जिनियर बनाउन सफल भएको उदाहरण प्रस्तुत गर्दै उहाँले सरकारलाई धन्यवाद पनि दिनुभयो।

तर पछिल्ला केही वर्षयता उक्त छात्रवृत्ति कार्यक्रम स्थगन गरिएकोप्रति उहाँले गहिरो दुःख व्यक्त गर्नुभयो। “विपन्न र सिमान्तकृत समुदायको जीवनस्तर उकास्न र मानव विकास सूचकांकमा सुधार ल्याउनका लागि यो कार्यक्रम निरन्तर हुनु आवश्यक छ,” सांसद मैनालीले भन्नुभयो ।

उहाँले सरकारले समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गर्दै नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो। साथै, शिक्षा मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै दलित विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको पुनः सञ्चालनको माग पनि गर्नुभयो।

Leave a Reply