पुष्पराज खतिवडा
मनहर्वा,नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्य वृद्धिको विरोधमा बाराको सिमरामा एक घण्टा राजमार्ग बन्द गर्ने जनाएको छ । शनिबार देशभरिका राजमार्गमा बिहान १० बजेदेखि ११ बजेसम्म बन्द गर्ने पार्टी केन्द्रको निर्णय अनुसार सिमरास्थित त्रिभुवन राजपथमा पनि यातायात बन्द गर्न लागिएको जिल्ला अध्यक्ष संघर्षले टेलिफोनमार्फत जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेपाल कम्युनिष्ट पार्टीले मुल्य वृद्धिको विरोधमा दिनहुँजसो विरोध प्रदर्शन र कोणसभाको आयोजना गरिरहेको छ । संघर्ष समितिले शुक्रबार नेपाल आयल नियमको अमलेखगंजं डिपोको मुख्य गेटमा कोणसभाको आयोजन गर्ने कार्यक्रम राखेको भएपनि प्रतिकुल वातवारणका कारण स्थगन गरिएको जिल्ला अध्यक्ष संघर्षले जानकारी दिनुभयो ।
विप्लवका कार्यकर्ताहरुले बिहीवार बाराको सिमरा चोकमा विरोध प्रदर्शन सहित कोणसभा गर्दै मुल्य वृद्धिको चर्को विरोध गरेका थिए । कार्यक्रममा नेकपा चन्द समुहका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थमा अस्वभाविक रुपमा गरिएको मुल्य वृद्धिले जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन ।
पार्टीको विभिन्न भातृ संगठनमा आवद्ध नेता कार्यकर्ताहरुले देश र जनताप्रति वर्तमान सरकार संवेदनाहिन भएको आरोप लगाए । स्वास्थ्य, शिक्षा, रोजगारी, सडक पूर्वाधार सहित जनजीविकाको सवालभन्दा पनि सत्ता र शक्तिको लागि लागि मरिहत्ते गर्नमा गठबन्धन उद्धत रहेको उनीहरुको आरोप थियो ।
वक्ताहरुले एमसिसी राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न र भ्रष्टाचार नियन्त्रणमा लाग्न सरकारको ध्यानाकर्ष समेत गराएका थिए ।