सर्लाही,पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरमा आइतवार राति उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।नचिनेका मान्छेको समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । ८० वर्षीय राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री हुनुभएको थियो । उहाँ परिवारसहित मलङ्गवा बस्ने गरे पनि बेलाबेला चन्द्रनगरमा रहेको पुरानो घरमा जाने गर्नुहुन्थ्यो । आइतवार नै पुरानो घर पुगेको बेला उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।

रायको हत्या भएको राति घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका– १ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । प्रहरीका अनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आउनुभएको थियो ।त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उहाँको घरमा आएको खुलेको हो । राय र उहाँको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए । हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृत बताएकाछन् । जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको उनकै घरमा काम गर्न बसेका राम उदेनले प्रहरी समक्ष बताएका छन् ।

पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बताएका छन् । जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् । राति पिसाब फेर्न उठ्ने बेलामा भने पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाई छ । राम उदेनमाथि सोधपुछ भइरहेको मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार राति घरमा ३ जनाको समूहमा आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
यसैबीच पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग भएको हतियार भेटिएको छ । रायको चन्द्रपुर गाउँपालिका– १ स्थित घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी दीपक श्रेष्ठले हत्यामा प्रयोग भएको हतियार भेटिएको बताउनुभयो । उहाँका अनुसार घरेलु हतियार फरसा भेटिएको हो । रगतले लत्पतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले रायको हत्यामा उक्त हतियार प्रयोग भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वमन्त्री रामचन्द्र रायको हत्या भएको घटना दुखद् र निन्दनीय रहेको जनाएको छ । राप्रपाका संस्थापक नेता समेत रहेका रायको आफ्नै निवासमा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । राप्रपाले घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको प्रवक्ता मोहन श्रेष्ठले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply