वीरगन्ज,पर्सा जिल्ला अन्तर्गत पर्ने वीरगन्ज–ठोरी हुलाकी सडकखण्ड अन्तरगत ठोरीका विभिन्न स्थानमा हुलाकी सडककैबीच भागमा नै रुख राखेर सडक कालेपत्रे गरिएपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । हुलाकी सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनलेबीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले त्यसको चौतर्फी आलोचना भइरहेको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकमा यस्तो लापरबाही हुनु हास्यास्पद भएको स्थानीय बासिन्दाले बताएका छन् । वीरगन्जदेखि ठोरीसम्मको हुलाकी सडकखण्डलाई दुई भागमा विभाजन गरी हुलाकी सडक आयोजना कार्यालयले दुई ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ । वीरगन्जदेखि सेढवाको चमरीहोलसम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ । हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण ठोरी गाउँपालिका–३ स्थित शिकारीबास पुल नजिकैबीच सडकमै रुख राखेर कालोपत्रे गर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

त्यसैगरी ठोरी २ स्थित व्यारेक डाँडामा पनि एउटा रुखलाई सडकको बीचमा पारेर कालो पत्रे गरिएको छ । सेढवाको चमरीहोलदेखि ठोरीको चौतरासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनलाई दिइएको छ । बीच सडकमा रुख राखेर कालोपत्रे गरेको कालिका बानियाँ जेभी कन्सट्रक्सनले ३० किलोमिटर मध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम सकिएको दाबी गरेको छ । बाँकी ५ किलोमिटर सडक निर्माणको काम चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेकाले रोकिएको निर्माणकर्ता कम्पनीले जनाएको छ । सडकखण्ड क्षेत्रमा पर्ने रूख कटानका लागि पटक पटक इजाजत माग्दा पनि निकुञ्जले अनुमति नदिएपछि बीच सडकमै सालको रूख छाडेर कालोपत्र गरिएको निर्माणकर्ता कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले दाबी गर्नुभयो । ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर सडक निर्माण भइरहेकोले त्यसलाई रोक्न निर्देशन दिएको र त्यसपछि वडा नम्बर १ र २ मा सडक निर्माणको काम प्रभावित बनेको बताउनुभयो । बीच सडकमा रुख राखेर कालोपत्रे गर्नुका कारण र ५ किलोमिटर क्षेत्रमा काम रोकिनुको बारेमा हुलाकी सडक आयोजनाका डिभिजन इन्जिनियर दरोगाप्रसाद साहसँग जानकारी लिने काम भएको समेत उहाँले बताउनुभयो । साहले बीच सडकमा रुख राखेर कालोपत्रे गर्ने व्यक्तिको तीन पुस्ते जानकारी गराउन निकुञ्जबाट परिपत्र भएको र वातावरणीय प्रभाव मूल्यांङ्कन गरिएभन्दा बढी काम भएकोबारे पनि जानकारी माग गरेको जानकारी आफूलाई दिएको ठोरी गाँउपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । निकुञ्जको उक्त परिपत्रपछि ठेकदार कम्पनी काम रोकेर फर्कन थालेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । शिकारीबास क्षेत्रमा कम्पनीले दुईवटा सालको रुख राखेर कालोपत्रे गरेको भन्दै निकुञ्जले रुख कटानको अनुमति नदिएका कारण ठेकदारले बीचमै रुख राखेर कालोपत्रे गरेको बताएको छ ।

यसरी कालोपत्रे हुनु दुःखद् भएको अध्यक्ष श्रेष्ठको तर्क छ । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले भने रुख कटानका लागि ठेकदार कम्पनीले प्रक्रिया पूरा नगरेको बताउनुभयो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस नगरी काम थालेका कारण यस बारे आयोजनासँग जानकारी माग गरेको उहाँले बताउनुभयो । निर्माणाधीन उक्त सडकको केही भाग निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रूख कटानका लागि मन्त्रीस्तरीय निर्णय हुनुपर्ने उहाँको भनाइ छ । ठोरी गाउँपालिका वडा नम्बर २ र १ को करिब ५ किलोमिटर सडक निर्माणको काम तत्कालका लागि रोक्न चितवन राष्ट्रिय निकुञ्जले आयोजनालाई परिपत्र गरेको छ । त्यसपछि काम रोकिएको वीरगञ्जस्थित हुलाकी सडक आयोजनाका डिभिजन इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिनुभयो । सडक निर्माणको काम रोकिएको बारे मन्त्रालय तथा विभागमा जानकारी गराइसकिएको उहाँले बताउनुभयो । सडकको बीचमा रुख राखेर सडक निर्माण भएको हुँदा दुर्घटनाको जोखिम उच्च भएको स्थानीयले बताएका छन् । हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण अहिलेको अवस्था आएको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here