निजगढ,नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले जनताका अपेक्षा पूरा गर्न देशमा एमालेको एकल सरकार बन्नुपर्ने बताउनुभएको छ ।एमालेले निजगढ नगर कमिटीको तेस्रो नगर अधिबेशन बिहीवार भएको उद्धाटन कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले एकपटक बहुमतको सरकार चलाउने मौका पाए नेकपा एमालेले देशको मुहार फेरेर देखाइदिने बताउनुभयो । ‘पटक पटक सरकारको नेतृत्व गर्ने मौका पाएपनि एमालेले बहुमतको सरकार भने चलाउन पाएको छैन, उहाँले भन्नुभयो, यदि एमालेको एकल बहुमतको सरकार बन्यो भने देशलाई बदल्न सक्छौं ।’नेता पौडेलले एमालेको सरकारले जनताको पक्षमा कसरी काम गर्नुपर्छ भन्ने कुराको उदाहरण मनमोहन अधिकारी नेतृत्वको अल्पमत र केपी ओली नेतृत्वको नेकपाको सरकारले दिइसकेको बताउनुभयो । ‘मनमोहन र केपी ओली नेतृत्वको सरकारमा पनि एमालेको बहुमत थिएन, उहँले भन्नुभयो, तर दुबै सरकारको पालमा देश र जनताको पक्षमा निक्कै महत्वपूर्ण काम भएका छन ।’ उहाँले जनता र राष्ट्रको पक्षमा काम गरेकै कारण सरकार ढालिएको पनि बताउनुभयो ।

नेता पौडेलले देशका श्रमजिवी मजदुर र गरिब जनताको पक्षमा काम गर्ने भिजन र क्षमता राख्ने पार्टी एमाले मात्रै भएको पनि दाबी गर्नुभयो । ‘देशमा सम्झन लायक केही काम भएका छन भने एमालेले नेतृत्व गरेको सरकारको पालमा मात्रै भएका छन ।’ उहाँको भनाई थियो ।कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य, पार्टी बारा जिल्ला इन्चार्ज एवं पूर्वमन्त्री ज्वाला साहले पार्टीलाई एकताबद्ध बनाएर पार्टीको ‘मिसन ८४’ अभियानलाई सफल पार्नुपर्ने बताउनुभयो । पार्टीको लोकप्रियता बृद्धि गर्न युवा, विद्यार्थी, महिला, किसानलगायत सबै वर्ग र समुदायलाई समेटनुपर्नेमा उहाँको जोड थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै अर्का पोलिटब्युरो सदस्य अच्युत मैनालीले देशलाई सम्बृद्ध बनाउने अभिप्रयाले संविधान सभामार्फत नयाँ संबिधान निर्माण गरिएको तर संबिधानको भावना अनुसार दलहरुले काम गर्न नसकेकाले देश अहिले गंम्भीर संकटमा पर्न लागेको बताउनुभयो । साना र नयाँ दलले देश र जनताभन्दा पनि पार्टी हितलाई ध्यानमा राखेर सरकार संचालन गर्दा सामाजिक, आर्थिक र राजनीतिक संकट बढेको उहाँको भनाई थियो । देशमा उत्पन्न संकटको सामना गरेर देशलाई उन्नतितर्फ अघि बढाउन एमाले कार्यकर्ताहरुले एकताबद्ध भएर अघि बढ्न जरुरी भएको उहाँको भनाई थियो ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु थापा मगर, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाड्येलगायतले अधिबेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिबेशनको उद्धाटन कार्यक्रमको अवसरमा जनआन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र पार्टीको संगठन विकास तथा विस्तारमा पंचायती शासनकालदेखि भूमिगत रुपमा काम गरेर सहयोग पु¥याउने निजगढका विभिन्न क्षेत्रका १ सय जनाभन्दा बढी पुराना नेता कार्यकर्ताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

नगर कमिटी अध्यक्ष एंव निजगगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो अधिबेशनको उद्धाटन कार्यक्रममा पार्टी नगर कमिटी उपाध्यक्ष भोलाप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव तिलक घलानले गर्नुभएको थियो ।२ दिनसम्म चल्ने सो अधिबेशनको बन्द सत्र शुक्रवारबाट शुरु हुने छ । अधिबेशनमा निजगढ नगरपालिकका १३ वटै वडा कमिटी (भूगोल)बाट १९३, जनसंगठनहरुबाट २७ र आयोजनक नगर कमिटीका सदस्य ६९ जना गरी २ सय ९६ जना प्रतिनिधि सहभागी छन ।अधिबेशनले आगामी ३ वर्षे कार्यकालको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply