यहाँ शिक्षक र उनीहरुले हाल संचालन गरिरहेको आन्दोलनको नजरअन्दाज गर्न खोजिएको होइन तर लामो समयसम्म आन्दोलनमा रहेका शिक्षकहरुले कम्तीमा सरकार र दलका स्वार्थको भावना चैं बुझ्नु पर्दछ ।काम परेको खण्डमा कसरी नेताहरुले शिक्षकलाई प्रयोग गर्छन् अनि शिक्षकलाई काम पर्दा चाही दलका नेताहरु कसरी भाग्दारहेछन् भन्ने कुरा अहिले आन्दोलनरत शिक्षकहरुले भोगिरहेको हुनुपर्दछ । अब शिक्षकहरुले यो कुरा पनि बुझिसकेको हुनुपर्दछ । यदि राजनीतिक दलमा शिक्षकप्रतिको सम्मान भएको भए करिब एक महिनादेखि पढाउन छाडेर शिक्षकहरु सडकमा बस्न नै पर्थेन ।

शिक्षकहरुलाई सडकमा मात्र होइन प्रहरीको कुटाइ खानेसम्म अवस्थामा पुगेका छन् । एउटा कुरा नि मानौं, केपी ओलीको ठाउँमा अरु कोही प्रधानमन्त्री भएको भए के शिक्षकहरुको समस्या समाधान हुन्थ्यो त ? यो शिक्षकहरुले बुझ्ने कुरा हो । फेरि शिक्षकहरु कुनै न कुनै दलमा आवद्ध छन् । एमालेमा पनि आवद्ध शिक्षकहरु छन् । आफ्ना माऊ पार्टीका लागि धेरै उनीहरुले गरेका छन् तर परिणाम के पाए त आज ?
अब शिक्षकहरुले दलीय राजनीति छाडे कै राम्रो हुन्छ । यो दल निकट त्यो दल निकटभन्दा पनि पेसाप्रति बढी बफादार बन्न आवश्यक छ । साुमदायिक विद्यालयमा शिक्षणको अवस्था सुधार्न जरुरी छ । राजनीति गर्ने मध्येमा शिक्षक पनि पर्छन् नै तर यसपालीको शिक्षक आन्दोलनले केही न केही त पाठ सिकाएको हुनुपर्दछ । अब पनि शिक्षकहरु दलकै झण्डा बोक्ने हो भने शिक्षकहरुको माग सुनुवाइ हुने कुरा त्यस्तै त्यस्तै हो भन्न सकिन्छ ।


















