कलैया,जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामग्रीसहित १२ वटा साइकल नियन्त्रणमा लिएको छ ।
मातहतको प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मा चेकजाँच गर्दा १ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।
प्रहरीले २० पिस सर्ट पाइन्ट, ५० पिस टोपी, ३२ पिस पेटिकोट, २-२ पिस रेडिमेड पाइन्ट सर्ट, ३४ पिस साडी र १ पिस कुर्ता सुरुवाल बरामद गरेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक न्यौपानेकाअनुसार प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले पनि भन्सार छलीका सामग्री बरामद गरेको छ ।
बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा चेकजाँच गर्दा ७२ हजार बराबरको तरकारी बरामद गरिएको छ । भारतबाट १२ वटा साइकलमा तरकारी बोकेर आउँदै गरेका व्यक्तिहरु प्रहरीलाई देख्ने बित्तिकै साइकल छोडेर भागेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।
बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ खुदिया टोलबाट पनि प्रहरीले ३० हजार ८४० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको टोलीले १४ हजार मूल्य बराबरको १३० किलो चिनी र ३ हजार बराबरको ३ कार्टुन बिस्कुट बरामद गरेको छ । सो सामानको मूल्य २ लाख १९ हजार ८ सय ४० रुपैयाँ बराबर रहेको बताइएको छ । बरामद सामाग्रीको आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
















