वीरगञ्ज,वीरगञ्ज महानगरपालिकामा विवाह, उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटकाको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । साथै, ध्वनी प्रदूषण नियन्त्रणका लागि राति १० बजेपछि डिजे बजाउनसमेत रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले बुधवार यस्तो निर्णय गरेको हो ।

बैठकमा विवाह, छेका (टीका टालो), व्रतबन्ध, उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटकाको प्रयोगलाई पूर्ण रूपमा बन्देज लगाउने सहमति भएको छ । ध्वनी प्रदूषणलाई मध्यनजर गर्दै डिजेको प्रयोगलाई पनि क्रमशः निरुत्साहित गर्ने बैठकको निर्णय छ । हाललाई राति १० बजेपछि डिजे पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । “छिट्टै अन्य सरोकारवालाहरूसँग थप बैठक राखेर पर्सा जिल्लामा डिजेलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरिनेछ ।” उहाँले भन्नुभयो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबै पक्षले अक्षरशः पालना गर्नुपर्ने अन्यथा कानुन बमोजिम कारबाही गरिने जानकारी दिनुभएको छ । “यदि यसको उल्लङ्घन भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।” उहाँले भन्नुभयो ।

बैठकमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भारतीय सीमा नाकाबाट अवैध रूपमा भित्रिने डिजेका उपकरण, पटाका र आतिशबाजीजन्य वस्तुहरूमा कडा निगरानी र चेकजाँच गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले यस्ता गतिविधिलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा थप कडाइ गरिने बताउनुभयो ।

होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले डिजेको प्रयोगलाई तत्काल पूर्ण रूपमा बन्द गर्न व्यवहारिक कठिनाइ रहेको बताउनुभएको थियो । “पार्टी प्यालेस वा होटेलमा भोजभतेर वा उत्सवका लागि अग्रिम बुकिङ हुने गर्छ, र धेरैजसो ग्राहकले डिजे सहितको प्याकेज बुक गर्छन् । तत्काल पूर्ण प्रतिबन्ध सम्भव नभए पनि राति १० बजेपछि डिजे बन्द गर्ने निर्णयमा सहमति भएको छ,” उहाँले भन्नुभयो । उहाँले डिजेको प्रयोगलाई क्रमशः घटाउन केही समय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बैठकमा होटेल तथा पर्यटन व्यवसायी सङ्घका महासचिव माधव बस्नेत, आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रतिनिधि, पर्यटन कार्यालय पर्साका प्रमुखलगायत वीरगञ्जका होटेल तथा पर्यटन व्यवसायीहरूको सहभागिता थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि थप सरोकारवालाहरूसँग पनि छलफल गरिने र डिजेको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन दीर्घकालीन रणनीति तयार गरिने बताउनुभएको छ ।

Leave a Reply