बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको सिंगौलस्थित धनसार खोलामा पानीको स्रोत दिनप्रतिदिन घट्दै जान थालेपछि सिँचाइ अभावमा स्थानीय किसानहरुले समस्या बेहोर्नु परेको छ ।बढ्दो वन फडानी, चुरे विनास र यो वर्ष हिँउदे वर्षा नहुँदा खोलामा पानीको सतह घटेको हो । स्थानीयले सिँचाइमा प्रयोग गर्दैआएको खोलामा पानी घटेपछि सिंगौल क्षेत्रका सयौं किसान प्रभावित भएका छन् । पानीको सतह घटेपछि केही दिनअघि हाइब्रिड जातको मकै लगाएका सिंगौलमा अधिकांश किसानलाई अहिले सिँचाइका लागि पानीको अभाव भएको स्थानीय किसान राममाया तामाङ्गले बताउनुभयो ।
‘मकैमा धान जमरा लागिसक्यो, उहाँले भन्नुभयो, तर पर्याप्त चिस्यान नहुँदा बोट सुकेर मर्ने अवस्थामा छ ।’ उहाँले खोलामा पानी घटेपछि सिँचाइ गर्न नपाएर मकै, केरा बाली र करेसाबारीको तरकारी पनि सुक्न लागेको बताउनुभयो ।
गत वर्ष स्थानीयले पानी अभावको समस्या समाधान गर्न किसानहरुलाई पालो प्रणालीमा सिँचाइ गर्ने व्यवस्था मिलाएको थियो । सो प्रणालीमा पानीको स्रोत कम भए पनि किसानहरूले आपसी समन्वयमा सहज रूपमा सिँचाइ गर्दै आएका थिए । तर यस वर्ष फागुन ५÷६ गतेसम्म पनि पालो प्रणाली लागू हुन सकेको छैन । जसले गर्दा कमजोर तथा पहुँच नभएका किसानहरू मकै र केरामा सिँचाइ गर्न नपाएर चिन्तित बनेका छन ।

स्थानीयवासीका अनुसार यदि चाँडै पानीको पालो प्रणाली लागू नगरिएमा केही दिनभित्र पानीको विषयलाई लिएर किसानहरुबीच आपसी विवाद, झगडा तथा कुटपिटको अवस्था सिर्जना हुनसक्ने जोखिम रहेको औंल्याइएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारले धनसार सिँचाइ आयोजनाका लागि वर्षेनि लाखौँ रुपैयाँ खर्च गर्दै आए पनि धनसार खोलाको पानीको स्रोत घट्दै गएको विषयमा दीर्घकालीन वैकल्पिक समाधानतर्फ खासै पहल भने भएको देखिँदैन । स्थानीयले स्थायी सिँचाइ पूर्वाधार र वैकल्पिक पानी स्रोतको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

Leave a Reply