बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल र छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ थाकलाचौर क्षेत्रमा पछिल्ला केही दिनमा चोरी सिकारी गतिविधि तीव्र बनेको छ । सुख्खा मौसम शुरु भएसंगै चोरी सिकारी पनि सक्रिय बनेका हुन ।स्थानीयहरूका अनुसार सिंगौलका केही व्यक्तिहरू स्वयं चोरी सिकारीमा संलग्न रहेका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार दैनिक रूपमा बदेल, मृग, मयुर जस्ता दुर्लभ तथा संरक्षित वन्यजन्तुहरू चोरी सिकारीको शिकार बन्न थालेका छन् ।
तर, यस समस्याबारे आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको र आफूहरूलाई मौन बस्न बाध्य पारिएको स्थानीयवासीहरूले गुनासो गरेका छन् ।
मुख्य रूपमा सिंगौल वडा नम्बर ३ अन्तर्गत पर्ने सुखसितल सामुदायिक वन र लालिगुराँस सामुदायिक वन तथा सो आसपासका क्षेत्रमा चोरी सिकारी भइरहेको हो । यी सामुदायिक वनहरू मकवानपुर जिल्लाको थाकलाचौरसँग सिधा जोडिएका छन्, जसले चोरी सिकारीका लागि सहज पहुँच भएको छ ।वर्षौंदेखि लगातार पानीको अभाव तथा खडेरीका कारण निजगढ र सिंगौलका सिमसार क्षेत्रमा स्थानीयहरूले आफ्ना पशुहरूलाई पानी खुवाउन खनेका साना पोखरीहरू अहिले जनावरहरूका लागि पिउने पानीको प्रमुख बनेका छन् । साँझपख पानीको प्यास मेटाउन आउने बदेल, मृग, हरिणजस्ता वन्यजन्तुहरूलाई चोरी सिकारीहरूले लक्ष्य बनाउने र गौडा ढुकेर मार्ने गरेको पाइएको छ ।
चोरी सिकारी नियन्त्रणका लागि सम्बन्धित निकाय तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन आवश्यक रहेको स्थानीयले जोड दिएका छन ।
उता निजगढ सब डिभिजन वन कार्यालयका प्रमुख निरज पोखरेलले भने कार्यालयमा चोरी सिकारी सम्बन्धि कुनै गुनासो नआएको भएपनि वन क्षेत्रमा हुनसक्ने चोरी सिकारी नियन्त्रणको लागि नियमित रुपमा वन सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ ।


















