वीरगञ्ज,बाक्लो हुस्सु र शीतलहर बढेपछि बारा, पर्सा र रौतहटका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै बर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिएका हुन् ।निजगढ नगरपालिकाले मातहतका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । अत्यधिक चिसोका कारण विद्यालयमा नियमित पठनपाठन कार्य असहज भएकाले विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाका अनुसार वर्षे बिदामा मिलान हुने गरी पुष २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाले पनि पुष २४ र २५ गतेका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिवकुमार यादव र जीतपुरसिमराका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिएको जनाएका छन ।यसैगरी यस्तै महागढीमाई नगरपालिकाले पुष २६ गतेसम्म बिदा थप गरेको छ । पुष २३ गतेसम्म यसअघि नै बिदा घोषणा गरेको नगरपालिकाले २६ गतेसम्म बिदा थप गरेको हो ।

बाराको परवानीपुर गाँउपालिका, सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले पनि पुष २६ गतेसम्म जाडो बिदा दिएका छन् ।उता, पर्साको ठोरी गाउँपालिकामा भने बढ्दो चिसो र शीतलहरका कारण सबै विद्यालयलाई १० दिनसम्म बिदा दिने निर्णय गरिएको छ । पुस २४ गतेदेखि माघ ४ गतेसम्म पालिकाकाभित्रका विद्यालयहरू बन्द रहनेछन ।
गाउँपालिकाका शिक्षा शाखाले दिएको जानकारीअनुसार, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने भएकाले जाडो बिदा दिने निर्णय गरिएको हो । ठोरी गाउँपालिकाका २१ सामुदायिक विद्यालयहरू माघ ६ गतेदेखि पुनः सञ्चालनमा आउनेछन् ।
पुस २४ देखि माघ ४ गतेसम्म जाडो बिदा दिने निर्णय भएको छ ।त्यसैगरी पछिल्लो एक सातादेखि चलेको शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । बिहानैदेखि लगातार हुस्सु र कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरूलाई पठन पाठनमा समस्या भएको भन्दै यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरी विद्यालय बन्द गरिएको हो ।

रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रवारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला सदरमुकाम गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ। जिल्लाका १८ स्थानीय तह मध्ये अधिकांशले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन ्।
पछिल्लो एक सातादेखि मधेस प्रदेशमा शीतलहरको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

Leave a Reply