वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको अत्यधिक चाप बढेपछि सेवालाई थप व्यवस्थित र सहज बनाउन नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अबदेखि स्थानीय तह अनुसार तोकिएका दर्ता स्टेशनबाट मात्र सेवा प्रवाह हुने जानकारी गराएको छ। यो नयाँ नियम २०८२ साल वैशाख १४ गतेदेखि लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले बताएका छन्।

नयाँ व्यवस्था अनुसार, विन्दावासिनी गाउँपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय पर्सामा मात्र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन सक्नेछन्।

त्यसैगरी, जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीले इलाका प्रशासन कार्यालय सुपौलीमा उपस्थित भएर आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।

वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण वडाका सेवाग्राहीले आदर्श नगरस्थित महानगरपालिकाको कार्यालयमा स्थापित दर्ता स्टेशनबाट सेवा प्राप्त गर्नेछन्।

यसैगरी, पोखरिया नगरपालिका, पकहाँ मैनपुर गाउँपालिका, कालिकामाई गाउँपालिका, छिपहरमाई गाउँपालिका र धोबिनी गाउँपालिकाका सेवाग्राहीले पोखरिया नगर कार्यपालिकाको कार्यालय, पोखरियाबाट नै राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए।

 

Leave a Reply