पुष्पराज खतिवडा
बारा,मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंहले बाराको कलैयामा अबैध रुपमा संचालनमा रहेका एक दर्जन निजी अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री सिंहले कलैयामा सञ्चालनमा रहेका अस्पतालहरुको शनीवार अनुगमनपछि अबैध रुपमा संचालनमा रहेका अस्पतालहरु बन्द गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले मापदण्ड विपरीत संचालनमा रहेका कलैयाका १२ वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले शनीवार कलैया स्थित प्रादेशिक अस्पतालसहित विभिन्न निजी अस्पतालको अनुगमन गर्ने क्रममा मापदण्ड पुरा नगरेका १२ वटा निजी अस्पताल तथा पोलीक्लिनिक बन्द गर्न निर्देशन दिनुभएको हो ।मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले कलैयामा संचालनमा रहेका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि, समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलिक्लिनिक, न्यु जीवनज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटललाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत उपकरण र बेड राखेर बिरामीहरुको शल्यक्रिया, आकस्मिक सेवा तथा नवजात शिशुको आकस्मिक सेवा संचालन गरेको पाइएको जनाइएको छ ।
यसैबीच मुख्यमन्त्री सिंहको अनुगमनका क्रममा रिपोर्टिङ गर्न पुग्नुभएका पत्रकार संदिपप्रसाद यादवलाई योगशिला हस्पिटल प्रा.लि.का संचालक पवन गुप्ताले गोली हान्ने धम्की दिएका छन् ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले गोली हान्ने धम्की दिएका हुन् ।
पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमनप्रसाद साहको मोबाइल नियन्त्रणमा लिएर उक्त फोटो डिलेट गराउन लगाएपछि प्रेस कार्ड खोसेर त पत्रकार होइन, तलाई पत्रकारको ‘प’ पनि थाहा छैन भन्दै गाली गलौज पनि गरेका थिए ।



















