आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाका विभिन्न स्थानमा नाग पञ्चमी पर्वको अवसरमा महावीरी झण्डा मेला लगाइएको छ ।सिम्रौनगढ बस पार्क, खजानीको आमगाछीमा सोमवार महावीरी झण्डाको आयोजना गरिएको हो ।मेला अन्तर्गत सिम्रौनगढ बजार, सानो ईटवाल, ठूलो ईटबाल, अमरपुर, सतुवाही र कमलपुरको झण्डाहरु सिम्रौनगढ बस पार्कमा ल्याईएको थियो भने खजानी आमगाछीमा लाग्ने झण्डामा खजानी, अमृतगन्ज, नैकाटोला, ननसगरा ढाट, सलेमपुर, गगानगर, हरिहरपुर लगायतका स्थानबाट झण्डा ल्याइएको थियो ।श्रद्धालु भक्तजनहरुले सोमवार बिहानैदेखि नाग बाबाको पूजा गरी महावीरी निकालेका थिए ।त्यसैगरी मेलामा भक्तजनहरुले झर्की, ठकरा, लाठीलगायत खेल प्रदर्शन गरेका थिए । सोमवार नै सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सतुवाहीमा पनि नाग पञ्चमी मेला लागेको थियो ।