निजगढ,कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख कृष्णभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ ।गोली लागेलगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर जानकारी दिएपनि प्रहरीले घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । तर प्रहरीले आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेर दुःख दिन थालेको भन्दै एमालेले अपत्ति जनाएको छ ।
गोली प्रहार भएपछि क्याम्पस प्रमुख कुशवाहाले तत्कालै फोनबाट आफूमाथि गाउँकै सुरेन्द्र कुशवाहले गोली प्रहार गरेको भनेर प्रहरी र नातामा भाइ पर्ने शेखरलाई जानकारी गराउनुभएको थियो । ‘साँझ सबा ५ बजेतिर दाजुको मोबाइलबाट फोन आयो, भाइ शेखरले भन्नुभयो, मलिन स्वरमा मलाई सुरेशले गोली हान्योमात्रै भनेर फोन राख्नुभयो ।’ त्यसपछि आफूहरु दौडेर आत्तिदै घटनास्थलमा पुग्दा उहाँ लडिसक्नुभएको थियो ।’
मृतकले नै गोली प्रहार गर्ने मान्छेको नाम बताएको अवस्थामा प्रहरीले स्थानीय राजनीतिक अन्तरविरोधको प्रभावमा परेर एमाले कार्यकर्ताहरुलाई पक्राउ गरेको र झुटा मुद्दामा फसाउने प्रयास गरेको नेकपा एमाले बारा जिल्ला कमिटीका सदस्य एवंम आदर्शकोतवालका एमाले नेता लालबाबु यादवले बताउनुभयो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँपालिकाका वडा नम्बर २ का पूर्ववडा अध्यक्ष एवं एमालेका कार्यकर्ता विनोद पटेलसहित पटेलका भाइ रामेश्वर, भतिजा सिकेन्द्र, नरेन्द्र र एमालेका कार्यकर्ताहरु बसन्त पासवान र अगन्धलाई पनि पक्राउ गरेको यादवले बताउनुभयो ।
‘हत्या गर्ने मान्छे क्लियर भइसक्दा पनि घटनामा संलग्न नभएका सर्वसाधारणलाई समातिएको छ, यादवले भन्नुभयो, स्थानीय राजनीतिक द्वन्दको प्रभावमा परेर प्रहरी प्रशासन एमाले कार्यकर्तालाई झुटा मुद्दामा फसाउने प्रयासमा लागेको देखिन्छ ।’ घटनापछि प्रहरीले गाउँमा निगरानी बढाएर धडपकड गर्न थालेपछि दर्जनभन्दा बढी एमाले कार्यकर्ताहरु घर छोडेर अन्यत्र लागेको पनि उहाँले जानकारी दिनुभयो ।
लालबाबुका अनुसार स्थानीय रमपत हजरा र रन्जित पण्डितको घर समेत तोडफोड र लुटपाट गरिएको छ । घटनालगत्तै हजराको घर तोडफोड गर्ने स्थानीयको समूहले पण्डितको घरमा पनि शुक्रवार राती आक्रमण र लुटपाट गरेको हो । सो समूहले पण्डित र उनको छोरामाथि कुटपिट पनि गरेको उहाँको भनाई छ । घटनापछि च्युटाहाबाट पुगेको प्रहरी टोलीकै सामुन्नेमा उनीहरुमाथि कुटपिट गरिएको बताइएको छ ।
आदर्शकोतवाल २ खजुरियास्थित घरबाट मोटरसाइकलमा कलैयातर्फ फर्किदै गरेको अवस्थामा पडाडिबाट अर्को एउटा मोटरसाइकलमा आएका सुरेन्द्रसहित २ जनाले बतरा गाउँ नजिकको सडकमा क्याम्पस प्रमुख कुशवाहाको कोखमा सटाएर गोली प्रहार गरेको प्रतक्ष्यदशीहरुले बताएका छन । सोही क्रममा मोटरसाइकल रोकेर क्याम्पस प्रमुख कुशवाहाले फोनबाट प्रहरी र आफन्तसंग कुरा गरेको प्रतक्ष्यदर्शी नरेश साहले बताउनुभयो । ‘हामी सडक नजिकैको खेतमा काम गरिरहेका थियौं, साहले भन्नुभयो, एक्कासी मोटरसाइकलको टायर पड्केको जस्तो ठूलो आवाज आयो, उहाँले भन्नुभयो, गएर हेर्दा त माडसाबको शरीरबाट रगतको भल निस्किदै थियो ।’ गोली लागिसकेपछि पनि १०÷२० मिटर परसम्म मोटरसाकइल चलाएर जानुभएका कुशवाहाले त्यसपछि आफै ओर्लेर फोनमा कुरा गरेको आफूहरुले देखेको उहाँले सुनाउनुभयो । प्रहरी भने पौने घण्टापछि मात्रै घटनास्थलमा पुगेको थियो ।
नेपाली सेनाका पूर्व जनावसमेत सुरेन्द्रले गाउँमा तत्कालिन माओवादी र जनतान्त्रिक समूहसंग मिलेर एमाले कार्यकर्ता विनोदको परिवारका सदस्यहरुको पनि हत्या गरेको स्थानीयले बताएका छन । विनोदका दाजु भोलाको ०६२ सालमा र काकाको छोरा सुरेशको ०७० सालमा सुरेन्द्रले नै गोली हानेर हत्या गरेको उनीहरुको भनाई छ ।त्यतिबेला कुशवाहा परिवारसंग निकट मानिएका सुरेन्द्र पछिल्लो पटक गाउँको एउटा जग्गाको विवाद र मिटरब्याजी सम्बन्धि मुद्दाले उनीहरुबीचको दुरी बढाएको थियो । सुरेन्द्र मिटरब्याजमा पैसा लगानी गर्ने र सर्वसाधारणको जग्गा हडप्ने कार्यमा पनि संलग्न थिए । गाउँकै सवा कठ्ठा जग्गाको स्वामित्वलाई लिएर क्याम्पस प्रमुख कुशवाहा र सुरेन्द्रबीच विवाद बढेको स्थानीयको भनाई छ ।
यसैबीच गाउँकै एकजना पासवान थरका व्यक्तिलाई मिटरब्याजमा दिएको रकमको बारेमा जिल्ला प्रशासन कार्यालयले बोलाएर कारबाही शुरु गरेपछि सुरेन्द्र लुकिछिपी बस्दै आएका थिए । डेड÷दुई महिनादेखि गाउँमा नदेखिएका कुशवाहा घटनाको दिनमा गाउँबाट मोटरसाइकलमा क्याम्पस प्रमुखको पिछा गर्दै गएको स्थानीयले बताएका छन ।
मुख्यरुपमा कुशवाहा, कुर्मी (पटेल) र हजरा (दलित) समुदायको बसोबास रहेको खजुरीया टोलमा पहिलेदेखि नै एमाले र कांग्रेस कार्यकर्ताहरुबीच राजनीतिक टकराव छ । गाउँका कुशवाहा जातिका अधिकांश मानिसहरु कांग्रेश र पटेल तथा हजरा जातिका मानिसहरु एमाले पार्टीतर्फ लागेका छन ।अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका विनोद पटेल वडा अध्यक्षमा निर्वाचित बन्नुभएको थियो भने गत निर्वाचनमा सो वडामा कांग्रेसका मनोज मेहता वडा अध्यक्षको चुनाव जित्नुभएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक खडकाले अनुसन्धानको क्रममा केही मान्छेहरुलाई नियन्त्रणमा लिएको भएपनि निर्दोष देखिए छोडिने बताउनुभएको छ । उहाँले घटनाको बारेमा अनुसन्धान भइरहेको र चाढै नै अपराधि पक्राउ पर्ने बताउनुभयो ।

















