निजगढ,निजगढ नगरपालिका वडा नम्बर– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी तीव्र पारेको छ ।आइतवार विद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी माघ १० गते हुन लागेको स्वर्ण जयन्ति महोत्सवको तयारी बारेमा जानकारी दिइएको हो ।विद्यालय स्थापनाको ५०औं वर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव आयोजना गर्न लागिएको र सोको सम्पूर्ण तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा रहेको विद्यालयको शैक्षिक गुणस्तर र प्रतिष्ठा अभिवृद्धिमा महोत्सव फलदायी हुने बताउनुभयो ।त्यसैगरी विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले साताव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको जानकारी दिनुभयो । प्रअ झाले यसक्रममा विद्यालयले सरसफाइ, खेलकुद प्रतियोगिता, दलित छात्रछात्रालाई न्यानो कपडा र विद्यालय झोला वितरणलगायतको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।स्वर्णजयन्तिको अवसरमा विद्यालयका संस्थापक, स्थापक सहयोगी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, विविसका पूर्वसदस्य, विद्यालयका पूर्वप्रधानाध्यापक, छात्रवृत्ति कोषका संचालक, राज्यको महत्वपूर्ण ओहोदामा पुगेका र शिक्षा, स्वास्थ्य, खेलकुद, कला र पत्रकारिता क्षेत्रमा योगदान दिने विद्यालयका पूर्वविद्यार्थी, २० वर्ष विद्यालयमा सेवा गर्ने शिक्षक कर्मचारी, विद्यालयमा अंग्रेजी माध्यमको कक्षा संचालन गर्न योगदान गर्नेहरुलाई सम्मानित गरिने बताइएको छ ।स्वार्ण महोत्सवको उमुद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुहुने बताइएको छ ।यसैबीच महोत्सवको सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत आइतवार नै विद्यालयका १ सय ४७ जना दलित छात्रछात्रालाई न्यानो कपडा स्वीटर र स्कुल ब्याग वितरण गरिएको थियो ।जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटाले विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण गर्नुभएको थियो ।


















