कृष्णउदास खनाल
वीरगञ्ज,हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि वीरगञ्जमा कफ्र्यु लगाइएको छ । अवस्था तनावग्रस्त बनेपछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साले शनिवार साँझबाट कफ्र्यु आदेश जारी गरेको हो ।हनुमान (महावीर) जयन्तीको अवसरमा आयोजित शोभा यात्राको क्रममा छपकैया इदगाह चोकमा भएको झडपले स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कफ्र्यु आदेश जारी गरेको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम शनिवार साँझ ६ः३० बजेदेखि आइतवार मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कफ्र्यु आदेश जारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वमा वीरगञ्ज महानगरपालिका–१५ को भेडियाही चोक, पश्चिममा वीरगञ्ज महानगरपालिका–२५ को सिर्सिया पुल, उत्तरमा वीरगञ्ज महानगरपालिका–१४ को गण्डक चोक र दक्षिणमा वीरगञ्ज महानगरपालिका–१६ को शङ्कराचार्य गेटसम्मको चार किल्लामा कफ्र्यु आदेश जारी गरिएको छ ।

कफ्र्यु तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा छपकैया इदगाह चोक नजिक पुगेपछि विवाद सुरु भएको थियो । फरक धर्मका व्यक्तिहरूले इदगाह चोकको एउटा भवनको छतबाट ढुंगामुढा गरेको दाबी गरेका छन् । ढुंगामुढापछि आक्रोशित सहभागीहरूले इदगाह चोकमा रहेका दुई होटेल तोडफोड गर्नुका साथै झन्डै आधा दर्जन मोटरसाइकलमा आगजनी गरेका थिए ।

झडपमा करिब डेढ दर्जन स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कयौँ सेल अश्रुग्याँस प्रहार गरेको छ ।प्रशासनले अनुसन्धान सुरु गरेको र स्थानीय बासिन्दालाई संयम अपनाएर शान्ति कायम राख्न आग्रह गरेको छ ।सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।यसैबीच कफ्र्यु आदेशका कारण नयाँ वर्ष २०८२ को स्वागतमा वीरगञ्ज महानगरपालिकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको रात्रि बजार स्थगित गरिएको छ ।

आइतवारको रात्रि बजार लाग्ने÷नलाग्ने विषयमा भने परिस्थिति अनुरूप निर्णय लिइने जनाइएको छ । कफ्र्यु जारी रहने वा नरहने विषयले रात्रि बजार लाग्ने बारेमा पनि निर्णय हुने आयोजक संस्था वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगञ्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा आइतबारसम्मका लागि ‘रात्रि बजार’ आयोजना गरेको थियो ।नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आएको थियो ।महानगरले रात्रि बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।

Leave a Reply