कलैया,पचरौता नगरपालिकाले उत्कृष्ट अंकसहित एसईई परीक्षा उतिर्ण गर्ने छात्रलाई बुधवार एक लाखसहित सम्मान गरेको छ । २०७९ सालको एसईई परीक्षामा प्राविधिकतर्फ जिल्लामै उत्कृष्ट अंक ल्याएको भन्दै नगरपालिकाले प्रोत्साहनस्वरुप छात्र साहिल पटेललाई सम्मान गरेको हो ।सरस्वती पूजाको अवसरमा बेनौलीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह र उपप्रमुख नसिमा खातुनले छात्र पटेललाई एक लाख रकमको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण गर्दै नगर प्रमुख सिंहले छात्रलाई उच्च शिक्षा हासिल गर्नका लागि प्रोत्साहन गरिएको बताउनुभयो ।

नगर प्रमुख सिंहले शिक्षा बिना समृद्ध नगरको कल्पना गर्न नसकिने भन्दै शैक्षिक विकासलाई नगरपालिकाले प्राथमिकता दिईरहेको बताउनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट हुने छात्रछात्रालाई हौसला प्रदान गर्नुका साथै प्राविधिक शिक्षा अध्ययन गर्दै दक्ष बनिरहेका जनशक्तिलाई छात्रवृत्ति समेत प्रदान गर्ने नगर प्रमुख सिंहले बताउनुभएको थियो ।सिंहले यसअघि गत जेठमा एमबीबीएस अध्ययन गरिरहेका दुई छात्रछात्रालाई १०÷१० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा दुई जनशक्ति उत्पादन भईरहेको भन्दै नगर प्रमुख सिंहले प्रोत्साहनस्वरुप पचरौता ५ की निशा चौरसिया र वडा नं. १ का अंशु राजलाई जनही १० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । सिंहले त्यसअघि रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गर्नुभएको थियो ।शैक्षिक क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा नगर प्रमुख सिंहले पिपरपातीस्थित विद्यालयबाट उतिर्ण भएका पटेललाई सम्मान गरेकोे शिक्षा शाखाका सहसंयोजक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । चेक हस्तान्तरण कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष लक्ष्मी यादवलगायतको उपस्थिति रहेको थियो ।


















