कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर २६ मा रहेको सार्वजनिक जग्गाको कागज किर्ते गरी लाभ लिने आरोपीलाई बारा प्रहरीले उन्मुक्ति दिन खोजेको स्थानीयले आरोप लगाएका छन ।किर्ते मुद्दामा अदालतले ७ दिनको म्याद थपी अनुसन्धान गर्न आदेश दिएका व्यक्तिहरुलाई पहुँचको आधारमा प्रहरीले एक दिन पनि अनुसन्धान नगरी छोडेको स्थानीयको आरोप छ । स्थानीय शशिकान्तप्रसाद यादवले साविक महेशपुर पंचायत वडा नम्बर १, कित्ता नम्बर ७ को १४ कट्ठा १० धुर जग्गा आफ्नो मृतक हजुरआमा दुलरिया अहिरिनको नाममा मालपोत कार्यालय बाराका कर्मचारीहरुको मिलेमतोमा किर्ते गरि श्रेस्ता कायम गराएको आरोप छ।

उक्त जग्गा सार्वजनिक जाग्गा रहेको भनी छानबिन गर्न स्थानीय श्यामबाबुप्रसाद यादवले भूमिसुधार तथा मालपोत कार्यालय बारामा उजुरी दिनुभएको थियो । कार्यालयले फागुन २७ गते सो जग्गा सार्वजनिक भएको र मृतक भइसकेकी दुलरिया अहिरिनको नाममा किर्ते श्रेस्ता कायम भएको अनुसन्धानबाट खुलेको भन्दै उक्त श्रेस्ता खारेज गरेको थियो।
श्रेस्ता खारेज भएपछि सो जग्गा किर्ते गरेर वर्षौदेखि भोग चलन गर्दै आएका शशिकान्त, शम्भुप्रसाद यादव, विनेश यादव, दिनानाथप्रसाद यादव र विशाल यादवमाथि स्थानीय राजेशप्रसाद यादवले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा बारामा उजुरी दिनुभएको थियो । बारा प्रहरीले आरोपी शशिकान्तलाई पक्राउगरी चैत २८ गते जिल्ला सरकारी वकिल कार्यालय बाराबाट अनुसंधान गर्न ७ दिनको म्याद पाएको थियो । वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादवले निज शशिकान्तमाथिको आरोप प्रमाणित गर्ने पर्याप्त प्रमाण हुदाँहुदै पनि प्रहरीले अनुसन्धान नै नगरी छोड्नुले आशंका उत्पन्न भएको बताउनुभएको छ ।यता जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी बिजयराज पण्डितले आरोपीलाई थुना बाहिर राखेर पनि अनुसंधान गर्न सकिने भन्दै यो कुरालाई ठूलो बनाउन नहुने बताउनुभएको छ ।

शशिकान्तले २०५२ सालमा मृतक भइसकेकी हजुराआमाको नाममा २०७६ सालमा मालपोत कार्यालयको श्रेस्ता नं. ८८२ को सक्कल पन्ना गायब गरि नक्कली पन्ना राखेर कर्मचारीहरुको सहयोगमा १४ कट्ठा १० धुर जग्गाको फर्जी श्रेस्ता कायम गरि भोग चलन गर्दै आएको आरोप छ । जब कि कार्यालयको कम्पुटर डाटामा उक्त नम्बरको श्रेस्ता दिपा पण्डितको नाममा रहेको छ।

Leave a Reply